काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरमा ड्युल इनर्जी एक्स-रे एब्सोपिटोमेट्री (डेक्सा) स्क्यानर, क वर्गको एम्बुलेन्स र लिक्युड अक्सिजन प्लान्ट उद्घाटन गरिएको छ।
सेन्टरमा सोमबार अयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले तीनवटै सेवाको उद्घाटन गरेका हुन्।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सन्तोष पौडेलले बिरामीलाई सहज र गुणस्तरिय सेवा प्रदान गर्नका लागि अस्पतालमा डेक्सा स्क्यानर, लिक्युड अक्सिजन प्लान्ट र 'क' वर्गको एम्बुलेन्स संचालनमा ल्याएको बताए।
उनका अनुसार डेक्सा स्क्यानर ७७ लाख ९५ हजारमा लगातमा खरिद तथा जडान गरिएको हो।
उक्त स्याक्नर विशेषगरी हड्डी खिइने समस्याका बिरामीहरुका लागि उपयोगी हुने डा पौडेलले बताए।
‘हड्डी खिइएको छ भनेर अन्य स्क्यानहरु मार्फत पत्ता लगाउने गरिएको थियो। तर, कति मात्रामा खिइएको छ भन्ने पत्ता लगाउने प्रविधि थिएन,’ उनले भने, ‘त्यसैले हामीले कति मात्रामा हड्डी खिइएको छ भनेर पत्ता लगाउनकै लागि डेक्सा स्क्यानर जडान गरेका छौं।’
उक्त स्क्यानर सेवा वैशाख १ गतेदेखि सुरु गरिने डा पौडेलको भनाइ छ। उक्त स्क्यानर आवश्यक पर्ने बिरामीले २ देखि ५ हजारसम्म खर्च तिर्नुपर्ने डा पौडेलले बताए।
‘शरीरको कुन अंगको स्क्यान गर्ने हो वा पूरै शरीर स्क्यान गर्नुपर्ने हुन्छ बिरामीको आवश्यकता अनुसार २ देखि ५ हजारसम्म खर्च पर्छ,’ उनले भने, ‘निजी अस्पतालमा भन्दा कम खर्च बनाउनेछौं।’
अस्पतालमा आजै देखि ‘क’ वर्गको एम्बुलेन्स सेवा पनि संचालनमा ल्याइएको छ।
ट्रमा सेन्टरले उक्त एम्बुलेन्स ८८ लाखमा खरिद गरेको हो।
दुर्घटनाका घाइते तथा आकस्मिक स्वास्थ्य सेवा आवश्यक पर्ने बिरामीहरुका लागि क वर्गको एम्बुलेन्स सेवा पनि संचालनमा ल्याइएको जानकारी डा पौडेलले दिए।
डा पौडेलका अनुसार सो एम्बुलेन्स सेवा हाललाई काठमाडौं उपत्यकामा रहेका दुर्घटनाका घाइते तथा बिरामीलाई सेवा प्रदान गर्न प्रयोग गरिने छ। आइसियुमा हुने सबै सुविधाहरु रहेको उक्त एम्बुलेन्सलाई मिनि आइसियुको रुपमा लिन सकिने उनले बताए।
डा पौडेलले सो एम्बुलेन्समा एकजना पारामेडिक्स र एकजना नर्सिङ स्टाफलाई पनि खटाइने उनले बताए।
‘प्रिहस्पिटल केयर आवश्यक पर्ने घाइते तथा बिरामीका लागि यो एम्बुलेन्स सेवा संचालनमा ल्याइएको हो,’ उनले भने, ‘यस्तै आकस्मिक सेवा लिन आएका बिरामीलाई आइसियु भेन्टिलेटर आवश्यक पर्ने भयो र यहाँ बेड भएन भने अर्को अस्पतालमा रेफर गर्दा पनि यो एम्बुलेन्स प्रयोग गर्न सकिन्छ। यसले गर्दा बिरामीको बाटोमै मृत्यु हुने जोखिम कम गर्न सकिन्छ।’
डा पौडेलले कोरोना संक्रमणपछि सिलिण्डर अक्सिजन अभावले खरिदमा दोब्बर महंगो समेत तिर्नुपर्ने अवस्था आएपछि अक्सिजन प्लान्टको व्यवस्था गरिएको पनि जानकारी दिए।
अस्पतालमै ट्यांकर राखिएको सो अक्सिजन प्लान्टमा करिव एक महिनालाई पुग्ने अक्सिजन भण्डारण गर्ने क्षमता भएको डा पौडेलले बताए।
अक्सिजन प्लान्टको प्रयोगले अस्पतालमा अक्सिजन सप्लाईमा सहज र सस्तो पर्ने डा पौडेलको भनाइ छ। उनले सिलिण्डर अक्सिजन भन्दा अक्सिजन प्लान्ट सस्तो पर्ने पनि बताए।
‘१३ हजार लिटर क्षमताको हो यो ट्यांकर, एक पटक भर्दा एक महिनालाई पुग्छ,’ उनले भने, ‘पहिला दिनमा ७० देखि ८० वटा सिलिण्डर खपत हुन्थ्यो, अब यो प्लान्ट भएपछि सिस्टमले अक्सिजन फ्लो गर्छ, सिलिण्डरमा खर्च हुने वार्षिक ३५ देखि ४० लाख खर्च जोगिन्छ।’