काठमाडौं- कोरोना संक्रमण बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले एक साताका लागि नगरभित्रका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ।
उपमहानगरपालिकाका प्रमुख धवलशमशेर जबराको अध्यक्षतामा बिहीबार बसेको नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको बैठकले शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो।
निर्णय आइतबारदेखि लागू हुने उपमेयर उमाथापा मगरले जानकारी दिइन्।
‘संक्रमणको दर उच्च गतिमा बढेको र कोरोनाको नयाँ संक्रमण बालबालिकामा देखिएपछि उपमहानगरपालिकाभित्रका विद्यालय बन्द गर्ने निर्णय गरेका हौं,’ उनले भने।
बुधबार बाँकेमा एकै दिन १२३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। योसँगै विपद् व्यवस्थापन समितिको बैठकले जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्न जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लैजानेसमेत निर्णय गरेकाे छ।