काभ्रेपलाञ्चोक– नमोबुद्ध नगरपालिका–४ भकुण्डेबेँसीस्थित मेथिनकोट प्रादेशिक अस्पताललाई कोरियाली संस्थाले मेडिकल सामग्री सहयोग गरेको छ।
अस्पताललाई कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका र कोइका अलुम्नाइ एशोसिएशन (कान)ले अत्यावश्यक २९ थान मेडिकल सामग्री बिहीबार हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा कोइकाका कन्ट्री डाइरेक्टर सङ हुन–को र कोइका अलुम्नाइका अध्यक्ष विनोद बिडारीले संयुक्तरूपमा काभ्रेपलाञ्चोकको नमोबुद्ध–४ का वडाध्यक्ष एवं मेथिनकोट अस्पतालका अध्यक्ष उद्धवप्रसाद काफ्लेलाई मेडिकल सामग्री हस्तान्तरण गरेका हुन्। अस्पताललाई पेसेन्ट मोनिटर दुई, अक्सिजन कन्सनट्रेटर दुई, कार्डियोग्राफी सिटिजी मेसिन एक, बिआइपी–एपी मेसिन एक, पल्स अक्सिमिटर पाँच, डिजिटल बिपी मेसिन छ, इमर्जेन्सी शय्या तीन, अक्सिजन रेगुलेटर पाँच, इमर्जेन्सी मेडिकल कार्ट एक र इमर्जेन्सी शय्या म्याट्रेस तीन थान सहयोग गरिएको हो।
सो अवसरमा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क योङ–सीकले मेथिनकोट प्रादेशिक अस्पतालले कोभिड–१९ को महामारीको समयमा पुर्याएको योगदानबारे प्रशंसा गर्दै अस्पताललाई थप आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव दीपक काफ्लेले अस्पतालका लागि प्रदेश सरकारले सहकार्य गर्ने जिम्मेवारी लिएको बताउँदै १५ शय्याको अस्पताललाई ५० शय्याको बनाउने निर्णय प्रदेश सरकारले गरेको र पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनका लागि आवश्यक प्रक्रिया शुरु भइसकेको बताए।