काठमाडौं– भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा ६९ दशमलब ४ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ।
अस्पतालले पछिल्लो २४ घण्टामा गरिएको कोरोना परीक्षणको विवरण सार्वजनिक गर्दै कुल परीक्षण गरिएको स्वाबमध्ये ६९ दशमलब ४ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ।
भेरी अस्पतालको प्रयोगशालामा गत २४ घण्टामा १८३ जनामा आरटी पीसीआर परीक्षण गरिएको थियो। तीमध्ये १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कोरोना संक्रमित हुनेमा ८ वर्षीया बालिका देखि ७८ वर्षीया वृद्धा समेत छन्। संक्रमित मध्ये धेरैजसो बाँके र बर्दियाका छन्। एकैदिन यति धेरै संख्यामा संक्रमित पहिचान भएको विगत १ वर्षमा यो पहिलो पटक हो भएको अस्पतालले जनाएको छ।
यो तथ्यांकले संक्रमण समुदायस्तरमा व्यापक रुपमा फैलिसकेको इंगित गर्ने अस्पतालका निर्देशक डा प्रकाश थापाले बताए। उनका अनुसार स्थानीयको कन्ट्याक्ट ट्रेसिङ गरेर परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो।
भेरी अस्पताल आफ्नो स्रोत साधनले भ्याएसम्म बिरामीको उपचारमा प्रतिबद्ध भएर लागेको जनाउँदै यहि क्रममा संक्रमण फैलँदै गएमा गम्भीर खालका बिरामीको चाप थेग्न मुस्किल हुने डा थापा बताउँछन्।
संक्रमणलाई थप फैलिन नदिन स्वास्थ्य सुरक्षाका मापदण्डहरूको पूर्ण पालना गर्न उनको आग्रह छ।
