काठमाडौं - ललितपुरको सानेपास्थित स्टार अस्पतालले कोरोना भाइरस विरुद्धको चिनिया कम्पनीको भेरोसल खोप निशुल्क रुपमा लगाउन सुरु गरेको छ।
जिल्ला स्वास्थ्य कार्यालय ललितपुरको आग्रहमा शुक्रबारदेखि खोप लगाउन सुरु गरेको अस्पतालले जनाएको छ। सरकारको कार्यक्रम अनुसार अस्पतालले उक्त खोप आइतबारसम्म लगाउनेछ।
शुक्रबार करिब २ सय ५० जनाले खोप लगाएको अस्पतालका मेडिकल डिरेक्टर शैयल रुपाखेतीले जानकारी दिए। कोरोना लगायत विभिन्न विपदको समयमा सरकारसँग समन्वय गर्न सदैव तयार रहेको उनले बताए।
देशभर कोरोना बढीरहँदा स्टार अस्पतालमा पनि पिसिआर परीक्षण गर्नेको संख्यामा वृद्धि भएको छ। स्टार अस्पतालमा मात्र दैनिक ३ सयभन्दा बढीको पिसिआर परीक्षण हुने गरेको अस्पतालका कोभिड ल्याबका टिम लिडर गोविन्द अकेला पौडेलले जानकारी दिए। जसमध्ये ४७/४८ जनामा कोरोना पुष्टि हुने गरेको उनले बताए।