काठमाडौं - देशभर हाल १३९ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। हाल रहेका कुल ८४३ सय संक्रमितमध्ये १ सय ३९ जना संक्रमित आइसियु र भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
९४ जना आइसियु र ४५ जना संक्रमित भेन्टिलेटरमा छन्। यसअघि शुक्रबार १३८ संक्रमित आइसियु र भेन्टिलेटरमा थिए। आइसियु र भेन्टिलेटरमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ। बागमती प्रदेशमा ४४ जना आइसियु र २६ जना भेन्टिलेटरमा छन्। प्रदेश १ मा २ जना आइसियु, प्रदेश २ मा ७ जना आइसियुमा, गण्डकी प्रदेशमा ३ जना आइसियु र १ जना भेन्टिलेटरमा छन्।
लुम्बिनी प्रदेशमा ३० जना आइसियु र १४ जना भेन्टिलेटरमा, कर्णालीमा ५ जना आइसियु र एक जना भेन्टिलेटरमा र सुदूरपश्चिम प्रदेशमा ३ जना आइसियु र ३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको आठ वटा अस्पतालमा गरी ६० जना संक्रमित आइसियु र भेन्टिलेटरमा छन्। १ सय ७६ जना आइसोलेसनमा छन्। यसअघि काठमाडौं उपत्यकामा मात्र ५५ जना कोरोना संक्रमित आइसियु र भेन्टिेलेटरमा थिए।
शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा ८ आइसियु, २ भेन्टिलेटर र ४६ जना आइसोलेसनमा छन्। वीर अस्पतालमा ४ आइसियु, २ भेन्टिलेटर र १३ जना आइसोलेसनमा, नेपाल प्रहरी अस्पतालमा २ जना आइसियु र ६ जना आइसोलेसनमा छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ४ जना आइसियु, ७ भेन्टिलेटरमा २२ जना आइसोलेसनमा, त्रिवि शिक्षण अस्पतालमा ५ आइसियु, ३ भेन्टिलेटर र २० जना आइसोलेसनमा, पाटन अस्पतालमा ६ आइसियु, १० भेन्टिलेटर र ५१ जना आइसोलेसनमा छन्।
यस्तै ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा २ जना आइसियु र १० जना संक्रमित आइसोलेसनमा छन्। ह्याम्स अस्पतालमा ४ आइसियु, १ जना भेन्टिलेटर र ८ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।