नेपालगन्ज- बाँकेमा शनिबार राति भेरी अस्पतालमा उपचाररत तीन कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीन संक्रमितको मृत्यु भएको जिल्ला संकट व्यवस्थापन समिति बाँकेले जनाएको छ।
भेरी अस्पतालमा उपचाररत राजापुर नगरपालिका-१ बर्दिया निवासी ७३ वर्षीय पुरुषको शनिबार बेलुका ७ः०० बजे मृत्यु भएको थियो। त्यसको ४० मिनेटपछि बाँकेको बैजनाथ गाउँपालिका-८ निवासी ७८ वर्षीया महिलाको मृत्यु भएको हो।
भेरी अस्पतालमै उपचाररत नारायण नगरपालिका-१ दैलेख निवासी ६८ वर्षीया महिलाको पनि गए राति नै निधन भएको छ।
बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएर ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ९६ पुगेको छ भने बाँके जिल्ला निवासी ६० जना कोरोना संक्रमितको निधन भइसकेको छ।