काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको पहिलो मात्रा खोप लगाएकाहरुलाई दोस्रो मात्राको खोप अभियानमा सहभागी हुन आग्रह गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २०७७ माघ १४ गतेदेखि फागुन १० गतेसम्ममा पहिलो मात्राको खोप लगाएकाहरुलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्राको खोप लगाइने जानकारी दिए।
प्रवक्ता डा गौतमले देशभरका विभिन्न स्वास्थ्यसंस्था र खोपकेन्द्र मार्फत कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्राका लगाउने कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए।
डा गौतमका अनुसार कोरोना विरुद्धको पहिलो मात्रा लगाएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स चालक तथा सहचालक, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, सबै सरकारी कार्यालय, संघसंस्था तथा बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहमा खटिएका सुरक्षाकर्मी, निर्वाचित जनप्रतिनिधि, सीमाक्षेत्रमा खटिएका सुरक्षाकर्मी, कूटनीतिक नियोगका कूटनीतिज्ञ तथा कर्मचारीहरुलाई नै दोस्रो मात्रा खोप लगाउन लागिएको हो ।
डा गौतमले खोप लगाउन जाँदा खोप कार्ड र आफ्नो कार्यलयको परिचयपत्र लिएर खोप केन्द्रमा जान आग्रह गरेका छन्।