काठमाडौं– चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरस विरुद्धको भेरोसेल खोप हालसम्म १ लाख ११ हजार व्यक्तिले लगाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत २५ गतेदेखि संचालन गरेको खोप अभियानमा हालसम्म १ लाख ११ हजारले खोप लगाइसकेको प्रमुख जनस्वास्थ्य प्रशासक बद्री बहादुर खड्काले जानकारी दिए। उनका अनुसार चैत २५ गतेदेखि २९ गतेसम्म चीनमा व्यापार गर्ने व्यापारी तथा आवतजावत गर्ने व्यक्तिहरु, चीनमा अध्ययनरत विद्यार्थीहरुलाई खोप दिइएको थियो।
यस्तै पहिलो चरणको अभियान पछि चैत ३१ गतेदेखि काठमाडौं उपत्यका सहित ७ जिल्लाका ४० देखि ५९ वर्ष सम्मका सबै नागरिकहरुलाई खोप दिन थालिएको थियो।
चीन सरकारले ८ लाख डोज खोप उपलब्ध गराएको र पहिलो डोज ४ लाख व्यक्तिलाई लगाउने सरकारको लक्ष्य छ।
स्वास्थ्य मन्त्रालयले वैशाख ५ गतेसम्म ७ जिल्लामा चलाएको अभियानमा खोप लगाउनेको संख्या न्युन भएपछि भोलि पनि केही खोप केन्द्रमा खोप अभियान जारी नै राख्ने जनाएको छ।
खड्काका अनुसार भोलि निजामति अस्पताल, प्रसूती तथा स्त्री रोग अस्पताल र शसस्त्र प्रहरी अस्पतालमा खोप कार्यक्रम यथावत नै रहने छ।
यस्तै मंगलबारदेखि शसस्त्र प्रहरी अस्पताल र क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम निरन्तर चल्ने खड्काले जानकारी दिए।