काठमाडौं– ‘नक्कली’ डाक्टरमाथि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धान सुरु गरेको छ। केही डाक्टरहरुलाई पक्राउ समेत गरिएके सिआइबी स्रोतले जनाएको छ।
एसएलसीकै शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा सिआइबीले पश्चिम रुकुमको चौरजहारी अस्पतालमा कार्यरत डाक्टर दीपेन्द्र गौतमलाई समेत पक्राउ गरेको छ।
मनाङको चामे गाउँपालिका–१ का गौतमको एसएलसीको शैक्षिकप्रमाणपत्र नक्कली भएको सिआइबीले जनाएको छ। उनीसँगै अन्य 'नक्कली' चिकित्सकलाई समेत पक्राउ गरिएको सिआइबी स्रोतले जनाएको छ।
पक्राउ परेकाहरुलाई सोमबार सार्वजनिक गरिने सिआइबीले जनाएको छ।
यसअघि २०७१ सालमा नक्कली डाक्टरविरुद्ध सिआइबीले ‘अपरेसन क्वाक’ नाम दिएर अपरेसन सञ्चालन गरेको थियो। सो क्रममा थुप्रै नक्कली डाक्टर पक्राउ परेका थिए। पक्राउ परेका नक्कली डाक्टरमाथि फितलो मुद्दा लगाइँदा धेरै नक्कली डाक्टरले उन्मुक्ति पाएका थिए।