काठमाडौं - आइसियु र भेन्टिलेटरमा भर्ना हुने कोरोना संक्रमितको संख्या दैनिक बढीरहेको छ। देशभर हाल करिब दुई सय जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्।
१४८ आइसियु र ४३ जना भेन्टिलेटरमा गरी १ सय ९१ जना बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि आइतबार १६२ संक्रमित आइसियु र भेन्टिलेटरमा थिए।
सोमबार प्रदेश १ मा ८ आइसियु र १ भेन्टिलेटरमा, प्रदेश २ मा ७ जना आइसियु, बागमती प्रदेशमा ७१ जना आइसियु र २७ जना भेन्टिलेटरमा छन्। गण्डकी प्रदेशमा ४ जना आइसियु र १ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४० जना आइसियु र १० जना भेन्टिलेटरमा, कर्णालीमा ७ जना आइसियु र २ जना भेन्टिलेटरमा र सुदूरपश्चिम प्रदेशमा ११ जना आइसियु र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको आठ वटा अस्पतालमा गरी ६४ जना संक्रमित आइसियु र भेन्टिलेटरमा छन्। १ सय ९० जना आइसोलेसनमा छन्। यसअघि आइतबार काठमाडौं उपत्यकामा मात्र ६६ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा थिए।
शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा ९ आइसियु, ४ भेन्टिलेटर र ४९ जना आइसोलेसनमा छन्। वीर अस्पतालमा ७ आइसियु, १ भेन्टिलेटर र १७ जना आइसोलेसनमा, नेपाल प्रहरी अस्पतालमा ३ जना आइसियु र ७ जना आइसोलेसनमा छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ९ जना आइसियु, ७ भेन्टिलेटरमा २९ जना आइसोलेसनमा, त्रिवि शिक्षण अस्पतालमा ४ आइसियु, २ भेन्टिलेटर र १२ जना आइसोलेसनमा, पाटन अस्पतालमा ६ आइसियु, १० भेन्टिलेटर र ५१ जना आइसोलेसनमा छन्।
यस्तै ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा छैनन्। १५ जना संक्रमित आइसोलेसनमा छन्। ह्याम्स अस्पतालमा २ जना आइसियु र १० जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।