काठमाडौं- लुम्बिनी प्रदेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमले मन्त्रालय थप गर्ने निर्णय भएको छ। मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव आएपछि उनले अविश्वासको प्रस्ताव राख्नेहरुलाई नै मन्त्रालय थप गरेर सरकारमा समावेश गराएका छन्।
यसरी मन्त्रालय थप गर्दा लुम्बिनी प्रदेशमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि थप भएको छ। यसअघि प्रदेशमा स्वास्थ्य मन्त्रालय थिएन। सामाजिक विकास मन्त्रालयले नै स्वास्थ्यको समेत काम गर्दै आएको थियो।
तर सोमबार मन्त्रिपरिषद विस्तारका क्रममा स्वास्थ्य मन्त्रालय समेत बनाइएको छ। स्वास्थ्य मन्त्रालयको जिम्मा लिला गरीलाई दिइएको छ।
स्वास्थ्य क्षेत्रका कर्मचारीले प्रदेशको यो निर्णयको खुलेर स्वागत गरेका छन्।
कोरोना संकटले स्वास्थ्यको महत्व बुझाएको भन्दै स्वास्थ्यकर्मीहरुले अन्य प्रदेशमा पनि छुट्टै स्वास्थ्य मन्त्रालय स्थापना हुनुपर्ने धारणा राखेका छन्।