काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको स्वास्थ्य उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री तीन महिनासम्मलाई पुग्ने गरी स्टकमा रहेको जनाएको छ।
मंगलबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले कोरोना परीक्षण किट, स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने पिपिइ तथा औषधि उपचारका अन्य सामाग्रीहरु हाललाई तीन महिनासम्मलाई पुग्ने स्टक रहेको बताए।
उनले आकस्मिक स्टकका रुपमा एक महिनासम्म पुग्ने गरी सामग्री राखिने पनि जानकारी दिए।
'अहिले हामीसँग तीन महिनासम्मलाई पुग्ने सामग्री छ। तर संक्रमण यसैगरी बढ्दै गएमा यी समाग्री खर्च हुनसक्छन्। त्यसकारण हामीले कम्तीमा एक महिनासम्मलाई पुग्ने सामग्री नघट्ने गरी स्टकमा राख्ने छौं' डा सिंहले भने।
उनले प्रदेश तथा स्थानीय तहले व्यवस्थापन गर्नसक्ने स्वास्थ्य सामाग्री तथा किटहरु उनीहरुले नै व्यवस्थापन गर्ने र प्रदेश तथा स्थानीय तहले व्यवस्थापन गर्न नसक्ने स्वास्थ्य सामाग्री तथा औषधि उपकरणहरु केन्द्र सरकारले व्यवस्थापन गर्ने तयारी भइसकेको जानकारी दिए।
कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै संक्रमतिको उपचारका लागि आकस्मिक रुपमा प्रयोग हुने स्वास्थ्य सामाग्री खरिदको प्रक्रिया समेत अघि बढाइसकेको र थप स्वास्थ्य सामाग्रीहरु छिट्टै आयात हुने पनि डा सिंहले बताए।
उनले भने, ‘संक्रमितको उपचार व्यवस्थापनका लागि आकस्मिक प्रयोग हुने परीक्षण किट, पिपिइ, अक्सिजन लगायतका स्वास्थ्य सामाग्री र उपकरण खरिद प्रक्रिया अघि बढाइसकेका छौं।’