काठमाडौं– विश्वका अति विपन्न समूदायहरुमा रहेको अन्धोपनलाई हटाउन डाक्टर सन्दुक रुइत र तेज कोहलीले संयुक्त रुपमा फाउण्डेसन शुरु गरेका छन्।
तेज कोहरी एण्ड रुइत फाउण्डेसन स्थापना गरेका डा रुइत र कोहलीले लामो समयदेखिको उपचार गर्न सकिने अन्धोपन हटाउने अभियानलाई एकै ठाउँमा रहेर सहकार्य गर्न लागेका हुन्।
फाउण्डेसनले डा रुइत तथा तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक विशेषज्ञता र कोहलीको विश्वव्यापी जनस्तर परियोजनाहरुको अनुभवलाई जोड्ने डा रुइतको विस्वास छ।
‘तेज कोहली र मेरो लागि यसमा सफलता हामीले कल्पना गरेर भन्दा ठूलो कुरा हासिल गर्नु हो,’ डा रुइतले भने, ‘हामीले अहिल्यै नेपालमा वार्षिक तीस हजार र भारत लगायत दक्षिण एशियामा गरी असी हजार बिरामीको शल्यक्रिया गर्ने व्यवस्था मिलाउने प्रण गरिसकेकाछौं’
फाउण्डेसनले आफ्नो पहिलो दुई वर्षमा करिव डेढ लाखको मोतिबिन्दु शल्यक्रिया गर्ने लक्ष्य लिएको छ।
जसअनुसार नेपालको लुम्बिनी, सोलुखुम्बु, गेटा आँखा अस्पताल धनगढी, रामलाल गोल्छा आँखा अस्पताल विराटनगर, राप्ती आँख अस्पताल दाङ्ग, फत्तेवाल आँखा अस्पताल वाँके, जानकी आँखा अस्पताल जनकपुर, सुर्खेत आँखा अस्पताल सुर्खेत गरि ६ स्थानमा करिब दुईहजार शल्यक्रिया समेत सम्पन्न गरिएको डा रुइतको भनाइ छ।
नेपालका साथै उत्तरी भारत, इन्डोनेसिया, म्यानमार, बंगलादेश, उत्तर कोरिया, अफगानिस्तान, रुवाण्डा, तान्जानिया, लेवनान, भुटान, इराक, घाना, इथियोपिया, कम्वोडिया, नाइजेरिया र सिरिया लगायतका देशहरुमा शल्यकृया संचालन गर्ने योजना रहेको छ।
फाउण्डेसनले स्थानीय समुदायमा हजारौं विपन्नको उपचार गरी पुन:ज्योती प्रदान गर्ने लक्ष्य लिएको छ।
यस्तै, हरेक शल्यक्रियाले स्थानीय रुपमा पार्ने सामाजिक र आर्थिक प्रभावको आधारमा स्थानीय प्राविधिकहरुलाई प्रशिक्षण दिएर स्थायी सामुदायिक आँखा अस्पतालको संजाल विस्तार गरिने लक्ष्य पनि फाउन्डेसनले लिएको छ।
डा रुइतका अनुसार अन्धोपनको प्रमुख कारण मोतिबिन्दु हो। विश्वको कुल जनसंख्यामध्ये ९ करोडमा मोतिबिन्दुको समस्या देखिएको छ। जसमा करिब एकतिहाइ मात्र शल्यक्रियामा पहुँचमा छन् भने करिब दुइ तिहाइ पहुँच नभएका मानिसहरु न्युन आय भएको देशहरुमा वसोवास गर्दछन्।
डा रुइतसँग सहकार्यको सुरुवात गर्दै तेज कोहलीले दृष्टिबिहिनहरुको उपचार पनि आँखाको ज्योती फर्काउदा उनिहरु आर्थिक रुपमा सक्रिय हुन सक्ने र आफ्नो परिवारको हेरचाह सक्ने बताए ।
‘अझै विश्वमा लाखौ मानिस दृष्टिविहिन नै छन् किनकी उनीहरुसँग उपचारको पहुँच छैन,’ कोहलीले भने, ‘सन्दुक रुइतसँगको यो सहकार्य मार्फत हामीले सम्भाव्य रुपमा दश लाखभन्दा बढी मानिसहरुलाई सेवा पुर्याउनेछौं।’
डा सन्दुक रुइत र तेज कोहलीले सन् २०२६ सम्म विश्वका अति विपन्न समुदायमा मोतिविन्दुबाट दृष्टिविहिन चार लाखको शल्यक्रिया गर्ने तय गरेका छन्।