काठमाडौं– सरकारको कोरोना संक्रमण फैलिएको शहरहरुमा भौतिक उपस्थितिमा हुने शैक्षिक कार्यक्रम तथा तालिम संचालन गर्न नपाइने निर्णय गरेसँगै शहरी क्षेत्रका शिक्षण संस्था बन्द भएका छन्।
सरकारले कोरोना संक्रमण बढ्दै गएका ठूला सहरहरुमा भौतिक उपस्थितिमा हुने शैक्षिक संस्था, विद्यालय, कलेज, ट्युसन सेन्टर तथा तालिम केन्द्र भौतिक उपस्थितिमा सञ्चालन गर्न नपाइने निर्णय गरेको हो।
ठूला शहरहरु काठमाडौं, ललितपुर, भक्तपुर, बिराटनगर, विरगञ्ज, भरतपुर, पोखरा, इटहरी, धरान, जनकपुर, हेटौडा, बुटवल, घोराई, तुलसीपुर, नेपालगञ्ज, धनगढी, मेचीनगर, विर्तामोड, दमक, राजविराज, बनेपा, धुलिखेल, सिद्धार्थनगर, विरेन्द्रनगर, भिमदत्तनगरमा रहेका शैक्षिक संस्था, विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र वैशाख मसान्तसम्म भौतिक रुपमा उपस्थित भइ संचालन गर्न नपाइने निर्णय सरकारले गरेको छ।
यी शहरका शैक्षिक संस्थाले शैक्षिक गतिविधि तथा कक्षा संचालन भर्चुअल माध्यमबाट संचालन गर्ने व्यवस्था मिलाउनुपर्ने आदेश सरकारले जारी गरेको छ।
यी शहरमा यसअघि नै निर्धारण भैसकेका विद्यालय तथा क्याम्पसका परीक्षा तथा चिकित्सा शिक्षा तर्फका अध्ययन जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्ने निर्णय सरकारले गरेको छ।