नेपालगन्ज- काेराेना संक्रमण तिव्र रुपमा फैलन थालेपछि नियन्त्रण तथा राेकथाम गर्न नेपालगन्जमा बिहीबार लकडाउन हुने भएको छ।
मंगलबार(हिजो) बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी), बाँकेले संक्रमणको ‘साङलो’ तोड्न एक साताका लागि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभर लकडाउन गर्ने निणर्य गरेको हो।
पछिल्लो समय बाँकेमा कोरोना संक्रमितको संख्या तिव्र रुपमा बढेको छ। सोमबार र मंगलबार मात्र बाँकेमा ३९८ जनामा कोरोना पुष्टि भएको थियो। आज नेपालगन्ज उपमहानगरपालिकामा मात्र ७३५ सक्रिय संक्रमित छन्।
बाँकेका प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशमा अत्यावश्यक सेवा र सोका लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा(बैंक् तथा वित्तीय संस्था समेत), पसल व्यवसाय संचालन र अत्यावश्यक काम बाहेकको हिंडडुल समेत निषेध गरिएको उल्लेख छ।
प्रजिअ गेलालले जारी गरेको सूचनामा दैनिक उपभोग्य बस्तुहरु तरकारी, खाद्य, दूध, ग्यासका पसल बिहान ६ देखि ९ बजेसम्म सञ्चालन हुने उल्लेख छ। ।
स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दूरसञ्चार, खानेपानी, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, बैंकको एटीएमजस्ता अत्यावश्यक सेवाहरु एवम् सार्वजनिक निर्माण कार्य, पूर्व निर्धारित परीक्षाहरु र हवाई सेवा सञ्चालन गर्न पाइने छ।
