बागलुङ- बागलुङमा कोरोना भाइरस संक्रमित बढ्दै गएपछि उच्च सतर्कता अपनाउन थालिएको छ।
प्रमुख जिल्ला अधिकारीका अध्यक्षतामा मंगलबार बसेको जिल्ला कोभिड१९ संकट व्यवस्थापन समितिको बैठकले कोरोना जोखिमलाई ध्यानमा राखी भीडभाड कम गर्न र कोरोना नियन्त्रणका लागि मठमन्दिर प्रवेशमा वैशाख महिनासम्म रोक लगाएको छ।
प्रशासनले बलेवामा कोरोना जोखिम बढेको जनाउँदै केही वडामा लकडाउन गर्ने निणर्य समेत गरेको छ।
जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठकले बागलुङको बलेवा क्षेत्रमा १० दिन लकडाउन गर्ने निणर्य गरेको छ।
बागलुङ नगरपालिकाको वडा नं १२, १३ र १४ मा लकडाउन गर्ने निणर्य गरेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए।
बागलुङ-१४ को जनताधन माध्यमिक विद्यालयका १९ विद्यार्थी र दुई शिक्षकसहित सोही वडाका अन्य १८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सतर्कता अपनाउन थालिएको हो।
आन्तरिक पर्यटकको भीड हुने कालिका मन्दिर, पञ्चकोट, राम मन्दिरलगायत स्थानमा वैशाख मसान्तसम्म प्रवेशमा रोक लगाइएको प्रजिअ कार्कीले जानकारी दिए।
यस्तै बैठकले पार्टी प्यालेस, डान्स बार, सिनेमा हल, आमसभा, जिमहललगायत भीडभाड हुने स्थानसमेत वैशाख मसान्तसम्म पूणर्रूपमा बन्द गर्ने निणर्य गरेको प्रजिअ कार्कीले बताए। मास्कविना कार्यालय र पसलमा प्रवेश गर्न रोक लगाउने र होटल तथा रेष्टुराँ बिहान ८ देखि बेलुका ८ बजेसम्म सञ्चालन गर्ने निणर्यसमेत गरिएको छ।