काठमाडौं - विनयकुमार शर्मा नेपाल, प्रकाशमणि दाहाल, डा कमल शर्मा लम्साल र डा विपिन नेपालले संयुक्त रूपमा तयार पारेको ‘चिकित्सा शब्दसागर’ नामक शब्दकोशको लोकार्पण गरिएको छ।
‘डिक्सनरी अफ मेडिकल, नर्सिङ एण्ड अलाइड हेल्थ’ नामक शब्दकोशको बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच लोकार्पण गरिएको हो। चिकित्सा सम्बन्धी क्षेत्रमा कार्यरत, अध्ययनरत डाक्टर, नर्स, अस्पताल, कलेजका साथै प्रशासन, अदालत, प्रहरी आदिका लागि उक्त शब्दकोश उपयोगी हुने डा विपिन नेपालले बताए।
उक्त शब्दकोशले बिरामी र चिकित्सकबीच सहज सञ्चारका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको अपेक्षा छ। विभिन्न अदालती तथा कानूनी काम कारबाहीका लागि प्रयोग हुने मेडिकल शब्दहरू यसबाट बुझ्न र आधिकारिक रूपमा लिन सकिने उनले बताए।
जम्मा १ हजार ९ सय २० पृष्ठ रहेको शब्दकोशमा अंग्रेजी र नेपाली दुवै भाषा समेटिएको छ। उक्त शब्दकोश हालसम्मकै सबैभन्दा धेरै पृष्ठको शब्दकोश भएको उनीहरूको दाबी छ।