धनगढी– धनगढीको त्रिनगर कम्पलेक्समा चिया पसल सञ्चालन गरिरहेका प्रह्लाद गुप्ता सामान लिन लक्ष्मीनारायण चोक पुगेका थिए। सामान बोकेर पसलतर्फ जाँदै गरेका उनलाई प्रहरीले रोक्यो। मुखमा मास्क नदेखेपछि उनलाई प्रहरीले एक मास्क दिँदै सय रुपैयाँ जरिवाना गर्यो।
दिउँसो १२ बजेतिर लक्ष्मीनारायण चोकबाट चौराहतर्फ स्कुटरमा सवार रुपा चौधरीले पनि मास्क लगाएकी थिइनन्। लक्ष्मीनारायण चोकमा खटिएको प्रहरीले उनलाई पनि रोक्यो। प्रहरी कर्मचारीले उनको नाम सोधे र १०० रुपैयाँ जरिवाना तोकिएको रसिद थमाए।
रुपाले मुखमा लगाउने मास्क आफ्नो झोलामा राखेकी थिइन। प्रहरीले जरिवाना तिराएपछि उनले भनिन्, ‘१० रुपैयाँ पर्ने मास्क नलगाउँदा १०० रुपैयाँ जरिवाना तिर्नुपर्यो।’
कैलालीमा दोस्रो लहरको कोरोना संक्रमण बढ्दै जाँदा पनि आम नागरिक विनामास्क आवतजावत गर्न लागेपछि प्रहरीले जरिवानासहित मास्क वितरण थालेको हो। जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरीले प्रशासनको आग्रह नमान्ने व्यक्तिलाई जरिवाना तिराउन लागेको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीले सडकमा मास्क नलगाइ हिँड्नेलाई कारबाही गर्ने जनाएको छ। छिमेकी मुलुक भारतमा तीव्र रूपमा संक्रमण बढेकाले त्यसको प्रत्यक्ष असर कैलालीमा परेपछि मास्क नलगाई हिँड्नेलाई प्रहरीले बुधवारदेखि जरिवाना तिराउन थालेको कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) खगेन्द्रप्रसाद रिजालले बताए।
संक्रामक रोग ऐन, २०२० बमोजिम जिल्ला प्रशासन कार्यालय कैलालीको निर्देशनानुसार कैलाली प्रहरीको मातहतमा रहेका प्रहरी युनिटहरू मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न थालेका छन्।
गुप्ता र चौधरीजस्तै विनामास्क बजारमा हिँडिरहेका ४७ जनालाई प्रहरीले कारबाही गरेको छ। झण्डै एक घण्टासम्म मुख्य सडकमा सञ्चालन भएको सो अभियानबाट प्रहरीले चार हजार सात रुपैयाँ बराबरको जरिवाना असुल गरेको जनाइएको छ।
प्रहरीले यस अभियानलाई निरन्तरता दिइने जनाएको छ। सडकमा कार, मोटरसाइकल, स्कुटर, विद्युतीय रिक्सा चालक लगायत अन्य व्यक्तिहरु पनि विनामास्क यात्रा गरिरहेको पाइएको कैलाली प्रहरीले जनाएको छ।
अहिले कैलाली जिल्लासँग जोडिएको नेपाल–भारत गौरीफन्टा नाकाबाट हजारौंको संख्यामा नेपालीहरू स्वदेश भित्रिरहेका छन्। कैलाली प्रशासनले नाकामा चैत ३ गतेदेखि एन्टिजेन परीक्षण शुरु गरेकोमा हालसम्म ११ हजार ३ सय ९० जनाको एन्टिजेन परीक्षण गरेको छ। एन्टिजेन परीक्षण गरिएकामध्ये हालसम्म ८ सय ४६ जनामा कोरोना संक्रमणको संकेत देखिएको सीडीओ रिजालले बताए।
अहिले विवाहको सिजन समेत भएकाले मानिसहरु भेला हुने क्रम झन् बढ्ने आकलन गरिएको छ। तर, विवाहमा २५ जनाभन्दा बढी भेला हुन नपाउने गरी प्रशासनले निर्देशन जारी गरेको छ।
कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि कैलालीमा स्थानीय प्रशासनले मंगलबारदेखि आंशिक रूपमा निषेधाज्ञा जारी गरिसकेको छ।