पर्सा– वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एकजना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका–१६ नगवा निवासी ६१ वर्षीया महिलाको बिहीबार बिहान १बजेर १५ मिनेटमा उपचारका क्रममा मृत्यु भएको हो।
श्वासप्रश्वासमा समस्या, कडा निमोनिया तथा उच्च ज्वरो भएकी ती महिलालाई वैशाख ५ गते अस्पताल भर्ना गरिएको थियो।
उनको उपचारकै क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड व्यापस्थान संयोजक डा सरोजरोशन दासले जानकारी दिए।
मृतक महिलामा वैशाख ३ गते नै सङ्क्रमण पुष्टि भएको र होम क्वारेन्टाइनमा राखिएको थियो। तर,स्वास्थ्यावस्था बिग्रिदै गएपछि उनलाई वैशाख ५ गते नारायणी अस्पतालको सघन उपचार कक्षमा भर्ना गरी उपचार सुरु गरिएको थियो।
यसैसँगै पर्सामा मृत्यु हुने कोरोना संक्रमितको सङ्ख्या ५९ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। पछिलो एक साताभित्र कोरोना सङ्क्रमणकै कारण पर्सामा ६ जना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको बताइएको छ।
–रासस