काठमाडौं- नेपालमा पहिलोपटक आयोजना हुन लागेको फ्रेञ्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपरलिग’ को अफिसियल मेडिकल पार्टनरको रुपमा नर्भिक अस्पताल अनुबन्धित भएको छ।
आगामी वैशाख ११ गतेदेखि दशरथ रंगशालामा सात टिमको फ्रेञ्चाइज फुटबल प्रतियोगिता आयोजना हुँदैछ।
यसैबिच, नेपाल सुपरलिगको तर्फबाट नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्ट र नर्भिक अस्पतालबीच नेपाल सुपर लिगको अफिसियल मेडिकल पार्टनर अनुबन्धको सम्झौतामा हस्ताक्षर भएको छ।
सम्झौतामा नर्भिकको तर्फबाट प्रबन्ध निर्देशक मेघा चौधरी र नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टको तर्फबाट सो कम्पनीका डाइरेक्टर श्रेयांश कार्कीले हस्ताक्षर गरेका छन्।
नेपाल सुपर लिगको अवधिभर दशरथ रंगशालामा उपस्थित खेलाडी, आयोजकका सदस्यमा देखा पर्नसक्ने कुनै आपतकालीन स्वास्थ्य समस्या समाधानका लागि नर्भिकको तर्फबाट ३ मेडिकल अफिसरसहितको टिम मैदान रहने बताइएको छ।
नर्भिकले यो अवधिमा खेलाडी तथा आयोजकका कुनै सदस्यको पिसिआर टेस्ट गर्नु परे विशेष छुटमा त्यस्तो सेवा समेत उपलब्ध गराउने छ।
कुनै खेलाडीमा कोभिड संक्रमण देखिए तिनीहरुको नर्भिकमा उपचार गराउने क्रममा लाग्ने बेड चार्जमा २० प्रतिशत छुटको सुविधा समेत उपलब्ध हुनेछ।
रंगशालामा संभव नहुने उपचारका लागि कुनै खेलाडी, दर्शक वा आयोजकका सदस्यलाई अस्पताल लैजानु परे त्यहाँ लाग्ने सबै उपचार खर्च स्वयम् बिरामीले व्यहोर्नुपर्ने सम्झौतामा उल्लेख छ।
कुनै खेलाडीलाई उपचारका लागि अस्पताल लैजानुपरे एक्स रे र एमआरई सेवामा नर्भिकले ५ प्रतिशत छुट दिने बताइएकाे छ।