काठमाडौं - कोरोना महामारी लगायत विपदको समयमा प्रजनन् स्वास्थ्य प्रभावित हुन नदिन सरोकारवालाले सरकारलाई आग्रह गरेका छन्।
काठमाडौंमा आयोजित मातृ तथा नवजात शिशु स्वास्थ्य सम्बन्धी एक कार्यक्रममा कोरोना महामारीको समयमा पनि महिला बढी प्रभावित भएको भन्दै उनीहरुले प्रजनन् स्वास्थ्यलाई प्रभावित हुन नदिन सरकारलाई आग्रह गरेका हुन्।
नेपाल स्त्रीरोग तथा प्रसुती विशेषज्ञ समाज नेसोगका अध्यक्ष डा गणेश दंगालले सरकारले मातृ मृत्युदर घटाउनका लागि विभिन्न नीति ल्याएपनि कार्यान्वयन हुन नसकेको बताए। शिशु जन्माउने क्रममा अझै पनि धेरै आमाहरुको मृत्यु भइरहेको भन्दै उनले सरकारले यसको कारण तर्फ ध्यान दिनुपर्नेमा जोड दिए। सरकारले जनशक्ति, स्रोत–साधनको परिचालन र गुणस्तरीय सेवालाई प्राथमिकताका साथ ध्यान दिन उनको सुझाव छ।
परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालकी निर्देशक डा संगीता मिश्रले सरकारले प्रजनन् स्वास्थ्यलाई केन्द्रित गरी नीति नबनाएसम्म मातृ मृत्युदर घट्न नसक्ने बताइन्। पहिले आमाहरुले घरमा ज्यान गुमाउँथे भने अहिले स्वास्थ्य संस्थामा ज्यान गुमाइरहेको उनको भनाई छ। कोरोनाको दोस्रो लहर सुरु भइसकेकाले प्रजनन् स्वास्थ्यलाई यो महामारीमा प्रभावित हुन नदिन उनको आग्रह थियो।
कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले सरकारले अब किशोर किशोरीमा लगानी बढाउनुपर्ने बताए। पोषण, मानसिक स्वास्थ्य लगायत विषयमा सरकारले किशोर किशोरीका लागि आफ्ना कार्यक्रम केन्द्रित गर्नुपर्ने उनको सुझाव छ। अझै पनि किशोरी अवस्थामा हुने गर्भधारण समस्याको रुपमा रहेकाले सरकारले ५ देखि २० वर्ष उमेरका लागि लगानी गर्नुपर्ने बताए।
विश्व स्वास्थ्य संगठनकी नेपाल प्रतिनिधि डा पुजा प्रधानले नेपालमा हुने हरेक मातृ मृत्युलाई समीक्षा गर्नुपर्ने बताइन्। सरकारले हरेक मातृ मृत्यु हुनुको कारण खोजेर अघि बढ्ने हो भने धेरै आमालाई बचाउन सकिने बताइन्।
स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका डा तारानाथ पोखरेलले नीति कार्यान्वयनमा समस्या भएकाले मातृ मृत्युदर घटाउन नसकिएको बताए। जनशक्तिको र लगानीको कमी, स्वास्थ्यमा समान पहुँच नहुँदा मातृ मृत्युदर सोचेजति घटाउन नसकिएको बताए। कोरोना महामारीको समयमा प्रजनन् स्वास्थ्यलाई कसरी निरन्तरता दिन सकिन्छ भन्ने विषय ठुलो चुनौतीको विषय भएको उनले बताए। शहरी क्षेत्रमा भन्दा ग्रामीण भेगमा स्वास्थ्य सेवा केन्द्रित हुन नसकेको उनको भनाई छ।