काठमाडौं - औषधि व्यवस्था विभागले केही कर्मचारीमा कोरोना देखिएपछि पसल दर्ता र निरीक्षण सम्बन्धी सबै काम स्थगित गरेको छ।
तीन जना कर्मचारीमा कोरोना पोजेटिव देखिएपछि कर्मचारीको अभाव तथा कार्य चाप व्यवस्थापन गर्न पसल दर्ता र निरीक्षण सम्बन्धी सबै काम आइतरबारदेखि स्थगित गरिएको विभागले जनाएको छ। विभागको उक्त सेवा अर्को सूचना जारी नभएसम्म स्थगित हुनेछन्।
हाल तीन जना कर्मचारीमा कोरोना पोजेटिव देखिएको र सात जना होम आइसोलेसनमा रहेको विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले बताए।
उनले भने, ‘विभागको तीन जना कर्मचारीमा कोरोना देखिएपछि हामीले दिदै आइरहेको सेवामध्ये नवीकरण बाहेक पसल दर्ता र निरीक्षण सम्बन्धी सेवा हाललाई स्थगित गरेका हौँ। केही कर्मचारीहरु होम आइसोलेसन र कन्ट्याक ट्रेसिङमा हुनुहुन्छ।’
अन्य सेवाहरु समेत आंशिक रुपमा प्रभावित हुन सक्ने विभागले जनाएको छ। सेवा लिन आउँदा स्वास्थ्य सम्बन्धी मापदण्ड पूणर् रुपमा पालना गर्न सबैमा विभागले आग्रह गरेको छ।