काठमाडौं - नेपाल फार्मेसी परिषदले नाम दर्ता प्रमाणपत्रको दुरुपयोग न्यूनीकरणका लागि रजिष्ट्रार सन्जिव कुमार पाण्डेयको संयोजकत्वमा समिति गठन गर्ने निणर्य गरेको छ।
वैशाख १० गते बसेको परिषदको बोर्ड बैठकले रजिष्ट्रार पाण्डेयको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निणर्य गरेको हो।
उक्त समितिमा स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभागबाट एक/एक जना प्रतिनिधि, एक जना कानून विज्ञ, एक फार्मेसी विज्ञ र एक जना आवश्यकता अनुसार सरोकारवाला रहेनछन्।
नाम दर्ता प्रमाणपत्रको दुरुपयोग न्यूनीकरण एवं व्यावसायिक आचार संहितालाई पालना गराउन आवश्यक गृहकार्य गर्न समिति गठन गरिएको रजिष्ट्रार पाण्डेयले बताए।
उनले भने, ‘नाम दर्ता प्रमाणपत्रको दुरुपयोग जुन जुन कारणले भइरहेको छ, त्यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ। आचार संहितालाई थपघट गरेर कसरी कार्यान्वयन गर्न सकिन्छ। फार्मेसी पेशालाई अझ बढी कसरी मर्यादित र व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्छौ।’
समितिले यी विषयमा काम गरेपछि परिषदको बोर्डलाई रिपोर्ट समेत बुझाउने उनले जानकारी दिए।
यो सँगै परिषदले विद्यार्थीको सहजताका लागि देशको जुनसुकै ठाउँबाट आवेदन शुल्क अनलाइन मार्फत बुझाउन सकिने व्यवस्था गर्ने निणर्य गरेको छ। यसका लागि परिषदले इसेवासँग सम्झौता गर्ने तयारी भएको पाण्डेयले जानकारी दिए।
नेपाल फार्मेसी परिषदको नियमावली २०५९ को परिच्छेद-७ को (क) व्यवस्थित, वैज्ञानिक एवं सुचारु रुपले फार्मेसी व्यवसायको संचालनका लागि आवश्यक नीति/नियम, निर्देशिका, मापदण्ड तथा पूर्वाधार निर्धारणका लागि सरोकारवालासँग अन्तरक्रिया गर्ने निणर्य भएको छ।
परिषदको कार्यालय व्यवस्थित रुपमा सञ्चालनका लागि यथाश्रिघ घर-जग्गा व्यवस्थापनका लागि परिषदका अध्यक्ष प्रज्वलजंग पाण्डेको संयोजकत्वमा समन्वय समिति समेत गठन गरेको छ।