काठमाडौं - एक एक पाइला नामक गैर सरकारी संस्थाले सामुदायिक स्वास्थ्य केन्द्रबाट सेवा दिन सुरु गरेको छ।
गरिब असाह्य बिरामीहरुको स्वास्थ्य परीक्षणलाई सर्वसुलभ र सस्तो सेवा प्रदान गर्ने उद्देश्यका साथ उक्त संस्थाले औपचारिक रुपमा सेवा सुरु गरेको हो। सामुदायिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य क्षेत्रका विभिन्न चिकित्सकहरुले सेवा दिनेछन्।
यस केन्द्रबाट सर्वसुलभ विशेषज्ञ सेवा प्रदान गर्न र आवश्यक परेको बेला उपत्यका भित्रका सुविधा सम्पन्न अस्पतालहरुमा रेफर समेत गरिने संस्थाले जनाएको छ। त्यो अवस्थामा सर्वसुलभ उपचारका लागि पहल गर्ने र बिरामीले उपचार शुल्क थेग्न नसक्ने भए संस्थाले नै खर्च बेहोर्ने उनले बताइन्।

उनले भनिन्, ‘यो स्वास्थ्य केन्द्रबाट विशेषज्ञहरुले गरिब आर्थिक अवस्था न्यून भएका बिरामीहरुलाई न्यून शुल्कमा प्राथमिक स्वास्थ्य सेवा दिनुहुन्छ। यदि कुनै बिरामीलाई ठुला अप्रेशन र उपचार चाहिएमा हामी सुविधा सम्पन्न अस्पतालमा सर्वसुलभ रुपमा उपचारका लागि पहल पनि गर्छौ।’
उपचारको रकम तिर्न नसक्ने बिरामीका लागि भने संस्थाले आर्थिक सहयोग गर्ने उनले बताइन्। यसअघि यो संस्थाले नेपालको विभिन्न ग्रामीण क्षेत्रमा पुगी स्वास्थ्य शिविरबाट सेवा दिदै आएको थियो। आगामी दिनमा पनि एक एक पाइलाले विभिन्न दुर्गम जिल्लाहरुमा विशेषज्ञ टोलीद्धारा सेवा विस्तार गर्ने योजना रहेको डा भट्टराईले बताइन्।