काठमाडौं- जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर संक्रमण फैलने क्रम नरोकिएपछि सोमबार (भोली) देखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आइतबार एक आदेश जारी गर्दै भोलीदेखि बाँके जिल्ला पूणर्रुपमा बन्द हुने जनाएका छन्।
प्रजिअ गेलालद्वारा जारी आदेशमा भोली वैशाख १३ गते सोमबार राती १२ बजेदेखि वैशाख २० गते राती १२ बजेसम्मका लागि बाँके जिल्लाभर निषेधाज्ञा जारी गरिएको उल्लेख छ।
सो अवधिभर अत्यावश्यक सेवा र सोका लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा जस्तै बैंक तथा वित्तीय संस्था, सवारी साधन, पसल व्यवसाय, हाटबजार सञ्चालन र अत्यावश्यक काम बाहेकको हिँडडुलमा समेत निषेध गरिएको छ।
काेरोना संक्रमणको साङ्लो तोड्न यसअघि कोहलपुर नगरपालिकाले आज १२ गते आइतबार राती १२ बजेदेखि एक साताका लागि कोहलपुर क्षेत्रमा लकडाउन गर्ने निणर्य गरेको थियो।
तिव्ररुपमा फैलिएको कोरोना भाइरस संक्रमणको साङ्लो तोड्न यसअघि डिसिसिएमसीले यही वैशाख ९ गतेदेखि १५ गतेसम्मका लागि नेपालगन्ज उपमहानगरपालिकाको क्षेत्रमा लकडाउन लगाएको थियो।
अवेज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही गरिने बाँके प्रशासनले जनाएको छ।
