काठमाडौं- मास्क नलगाउनेबाट एक सातामा प्रदेश २ प्रहरी कार्यालयले साढे ३ लाख भन्दा बढी राजश्व संकलन गरेको छ।
वैशाख ४ गतेबाट ११ गतेसम्ममा मास्क नलगाउने ३ हजार ५२४ जनाबाट ३ लाख ५२ हजार ४ सय राजश्व संकलन गरिएको प्रदेश २ प्रहरी कार्यालयका प्रमुख डीआईजी धीरजप्रताप सिंहले बताए।
संक्रामक रोग निवारण ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर उनीहरूबाट जनही १ सय रूपैयाँका दरले जरिवाना लिइएको प्रहरीले जनाएको छ।
त्यसैगरी, प्रदेश २ का जिल्लाहरूमा कोरोनाभाइरस संक्रमण हुन नदिन भन्दै प्रहरीले वैशाख १ गतेदेखि सूचनामुलक जानकारी गराउँदै आएको थियो। सार्वजनिक स्थान, सवारी साधनहरूमा मास्क वितरण गर्नेदेखि वैशाख ४ गतेसम्म ४७० पटक प्रचार प्रसार गर्नुका साथै माइकिङ र जिंगल समेत बनाइ सूचना प्रवाह गरेको थियो।
४ गतेबाट भने कारबाहीमा उत्रिएको प्रहरीले मास्क नलगाइ हिँड्ने ४४ हजार ४ सय ५१ जनालाई ३ घण्टा होल्डिङ गरेर छाडेको थियो। त्यस्तै १६ हजार ९ सय ६९ जनालाई होल्डिङ गरी मास्क समेत वितरण गरिएको डीआईजी सिंहले बताए।