काठमाडौं- राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)ले भर्ना भएको अस्पतालबाहेक कुनैपनि बिचौलिया मार्फत कुनै प्रयोजनका लागि नमूना नदिन सर्वसाधारणलाई अनुरोध गरेको छ।
एनपीएचएलले कोभिड प्रयोगशालाहरुले पनि त्यसरी बिचौलिया मार्फत संकलन गरिएका नमुना स्वीकार नगर्न पनि निर्देशन दिएको छ।
विदेश जाने प्रयोजनबाहेक अन्य व्यक्तिले आफुलाई पायक पर्ने कोभिड१९ को अनुमति प्राप्त प्रयोगशालाबाट पिसिआर परीक्षण सेवा लिन एनपीएचएलले अनुरोध गरेको छ।
विदेश जाने प्रयोजनका लागि भने एनपीएचएलले सबै पिसिआर परीक्षण गर्ने सरकारी प्रयोगशाला र स्टार हस्पिटल सानेपा ललितपुर, नेपाल मेडिसिटी अस्पताल भैसेँपाटी, मनमोहन मेमोरियल कलेज एण्ड टिचिङ हस्पिटल स्वयम्भू, युनिभर्सल कलेज अफ मेडिकल साइसेन्ज एण्ड टिचिङ हस्पिटल भैरहवा र ह्याम्स हस्पिटल मडिखाटार काठमाडौँमा पिसिआर परीक्षण गर्न अनुमति दिएको छ।
विदेश जाने प्रयोगजनका लागि ‘ए’ वर्गको प्रयोगशाला मात्र मान्य हुने सन्र्दभमा उक्त सूचिमा नपरेका पिसिआर परीक्षण प्रयोगशाला गुणस्तरीय नभएको भन्ने भम्रमा नपर्न पनि स्पष्ट पारेको छ।
एचपीएचएलले एक प्रयोगशालामा कुनै अवैध क्रियाकलाप भइ त्यस्ता प्रयोगशाला निलम्बन÷खारेज भएमा अन्य नाममा नयाँ खोल्न सहज हुने तर अस्पतालमा आधारित प्रयोगशालामा अबैध क्रियाकलाप भए सम्पूर्ण स्वास्थ्य संस्था नै निलम्बन वा खारेज हुने हुनाले ‘ए’ प्रयोगशाला भएका अस्पताललाई मात्र विदेश जाने प्रयोजनका लागि पिसिआर परीक्षणको मान्यता दिएको पनि स्पष्ट पारेको छ।
साथै, कोभिड परीक्षण गरिरहेका अन्य अस्पताल पनि ‘ए’ वर्गमा दर्ता हुन आएमा विदेश जाने व्यक्तिको पिसिआर परीक्षण गर्न सूचिकृत हुने पनि एनपीएचएलले जानकारी गराएको छ।
विदेश जानका लागि परीक्षण गराउँदा अनिवार्य पासपोर्टको फोटोकपी लिएर प्रयोगशालामा जान र ७२ घण्टासम्म पिसिआरको नतीजा मान्य हुने हुने प्रयोगशालालाई परीक्षणका लागि प्रर्याप्त समय पुग्ने गरी नमूना दिन पनि एनपीएचएलले अनुरोध गरेको छ।
