काठमाडौं- कोरोना संक्रमण उच्च दरमा बृद्धि भएपछि त्यसलाई रोक्न काठमाडौं उपत्यकामा कडा निषेधाज्ञाको आदेश जारी गर्ने निक्र्योलमा पुगेका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले त्यसबाट पर्ने असरलाई विचार गरेर मात्र निषेधाज्ञा लागू गरिने बताएका छन्।
काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको सोमबार बसेको बैठकले सुरुमा कम्तीमा एक साता निषेधाज्ञाको आदेश जारी गर्ने तय गरेको छ। तर, त्यसलाई सार्वजनिक गरिसकेको छैन।
बैठकपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यकामा थुप्रै सेवा बन्द गर्ने निर्णय लागु गर्नुअघि सर्वसाधारणलाई बिचल्ली पर्ने अवस्था आउन नदिइने बताए।
‘एक दुई दिन समय दिएर, आम नागरिकलाई पनि असुविधा नहोस्, भोलि बन्दको स्थिति आयो भने उहाँहरुलाई घर फर्कन पनि समय मिलोस् भन्ने हिसाबले एक दुई दिन समय दिएर आदेश जारी गर्ने तयारीमा छौं’, उनले भने, ‘मिति ठ्याक्कै फिक्स नभए पनि कम्तीमा दुई दिनको समय दिएर लागू गर्नुपर्छ भन्ने हिसाबले नै हामी होमवर्क गरिरहेका छौं।’
उनले कोरोना संक्रमणको चेनब्रेक गर्नका लागि चिकित्सकहरुले तीन हप्ता ‘टाइट हिसाबले जानुपर्ने’ सुझाव दिएको उल्लेख गर्दै कतिपय सेवाहरुको कारण सर्वसाधारणलाई पनि प्रभाव पर्ने भएकाले त्यही हिसाबले सोचिरहेको बताए।
‘नागरिकलाई दुःख, सास्ती हुने अवस्था आउन दिँदैनौं। पहिलेजस्तो हिँड्दै घर जाने अवस्था आउन दिन्नौं। बरु घर पुग्ने बसहरुको पनि व्यवस्था गर्छौं’, उनले भने।