बाँके- बाँकेमा कोरोना संक्रमण भई उपचार गराइरहेका तीन संक्रमितको मृत्यु भएको छ। जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका फोकल पर्सन तेजबहादुर वलीका अनुसार नेपालगन्ज उपमहानगरपालिका ३ का २६ वर्षीय पुरुष, कोहलपुर नगरपालिका १ की ६० वर्षीया महिला र तुलसीपुर उपमहानगरपालिका-९ का ७४ वर्षीया महिलाको मृत्यु भएको छ।
वैशाख १२ गते नेपालगन्ज नर्सिङ होमको प्रि-आइसोलेसन वार्डमा भर्ना भएका २६ वर्षीय पुरुष १३ गते नेपालगन्ज मेडिकल कलेजमा पिसिआर परीक्षण पोजिटिव आएपछि भर्ना भएका थिए। उनको नेपालगन्ज मेडिकल कलेजको कोभिड अस्पतालमा भर्ना भएकै दिन हिजो बेलुका मृत्यु भएको वलीले बताए।
त्यसैगरी, वैशाख १० गते नेपालगन्ज मेडिकल कलेजमा पिसिआर परीक्षण पोजिटिव आएपछि भेरी अस्पताल भर्ना भएकी कोहलपुर-१ की ६० वर्षीया महिलाको मंगलबार बिहान २ बजेर ४० मिनेट जाँदा मृत्यु भएको डिसिसिएमसी बाँकेले जनाएको छ। योसँगै बाँकेमा मात्र ९२ जना संक्रमितको मृत्यु भएको छ।
त्यसैगरी, वैशाख १३ गते नेपालगन्ज मेडिकल कलेजमा परीक्षण गर्दा कोरोना पुष्टि भएपछि १३ गते भर्ना भएकी तुलसीपुर-९ दाङकी ७४ वर्षीया महिलाको आज बिहान ६ बजेर २० मिनेट जाँदा मृत्यु भएको बताइएको छ।
हालसम्म बाँकेमा उपचाररत बाहिरी जिल्ला १०६ जना संक्रमितको मृत्यु भएको छ।