काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक तथा स्वास्थ्यकर्मीले खाईपाई आएको सेवा विस्तार भत्ताको व्यवस्थामा अन्यायपूर्ण नियम बनाएको भन्दै असन्तुष्टि जनाएका छन्।
अस्पतालका विभागीय प्रमुख तथा नर्सिङ इन्चार्जहरुले अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा सन्तोष पौडेललाई ज्ञापन पत्र बुझाउँदै आफूहरुले पाउनुपर्ने खाईपाई आएको सेवा विस्तार भत्ता सरकारले जारी गरेको निर्देशन अनुसार दिन समेत माग गरेका छन्।
उनीहरुले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को नियम अनुसार खाईपाई आएको सेवा विस्तार भत्ता २०७७ साल साउनदेखि कात्तिकसम्म अन्यायपूर्ण तरिकाले वितरण गरिएको बताएका छन्। न्याम्सको नियममा भएको व्यवस्था नै परिमार्जन गर्दै भत्ता वितरणमा अन्याय गरेको उनीहरुको आरोप छ।
कोरोना महामारीमा समेत आफ्नो र परिवारको ज्यान जोखिममा राखी बिरामीको सेवामा खटिएपनि स्वास्थ्यकर्मीहरुलाई विभेदपूर्ण भत्ता वितरण गरी मनोवल गिराएको उनीहरुको गुनासो छ।
सरकारले कोभिड जोखिमको बेलामा जारी गरेका निर्देशन अनुसार नै आफूहरुले पनि काम गरेको भएपनि उक्त अवधिमा सेवा विस्तार भत्तालाई घण्टाको हिसाब गरि अन्यायपूर्ण तरिकाले वितरण गरिएको उनीहरुको भनाई छ।
चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले उक्त निर्णयलाई यथाशिघ्र सच्याई निशर्त रुपमा भत्ता उपलब्ध नगराए सेवा प्रवाह नै अवरुद्ध पार्ने चेतावनी समेत दिएका छन्।
उनीहरुले स्वास्थ्यकर्मीलाई दिँदै आएको भत्तामा गरिएको अन्यायपूर्ण निर्णय निशर्त ३ दिनभित्र सच्याउन माग गरेका छन्।

