काठमाडौं- कोरोना संक्रमण नियन्त्रणका लागि जनचेतनामूलक गतिविधिमा सक्रिय भएको प्रहरीले पछिल्लो २४ घण्टामा मास्क नगलाई हिँड्ने देशभरका ३० हजार ८ सय ८३ जनालाई होल्डिङ जोनमा राखेको छ। होल्डिङ जोनमा राखिएकाहरुलाई सम्झाइ बुझाइ गरी छाडिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि खटिएको प्रहरी टोलीले उनीहरुलाई होल्डिङ जोनमा राखी कोरोनाबाट बच्ने र रोकथाम गर्ने विभिन्न सचेतनामुलक सामाग्रीका बारेमा समेत जानकारी गराइएको जनाएको छ।
पछिल्लो २४ घण्टामा १७ हजार ९ सय ४७ जनालाई नि:शुल्क मास्क वितरण गरिएको पनि प्रहरीले जानकारी दिएको छ। यस्तै, पछिल्लो २४ घण्टामा सञ्चालित ४ सय ९१ वटा सचेतनामूलक कार्यक्रमबाट ६६ हजार ७ सय ४७ जना लाभान्वित भएका प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
कोरोनाको दोस्रो लहरबाट सिर्जित हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी प्रहरीले सचेतना कार्यक्रम गर्दै आएको छ।
स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
तोकिएको मापदण्ड उल्लंघन गर्ने १ हजार २ सय ७१ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ। साथै मास्क तथा स्यानिटाइजरको सही प्रयोग र नियमित मास्क लगाउन प्रहरीले सबैमा अनुरोध समेत गरेको छ।
नेपाल प्रहरीले विभिन्न स्थानहरूमा कोभिड–१९ को जोखिम न्यूनीकरणको लागि सचेतनामूलक सन्देश सहितको माइकिङ, सवारी साधनहरूको चेकजाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शन लगायतका कार्यक्रमहरू संचालन गरेको छ।