काठमाडौं- बाँकेका थप पाँच कोरोना संक्रमितको उपचारको क्रममा निधन भएको छ। जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका फोकल पर्सन तेजबहादुर वलीका अनुसार भेरी अस्पतालमा उपचाररत नेपालगन्ज उपमहानगरपालिकाका ४ का ६० वर्षीय पुरुषको हिजो मृत्यु भएको छ। उनको वैशाख ६ गते भेरी अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षण गर्दा कोरोना पोजिटिव पुष्टि भएको थियो।
त्यसैगरी, नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर नगरपालिका ११ की ४३ वर्षीय महिलाको पनि हिजो बेलुका मृत्यु भएको छ। उनी हिजो नै कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएकी थिइन्।
भेरी अस्पतालमा वैशाख ११ गते भर्ना भएका नेपालगन्ज उपमहानगरपालिका ९ का ४२ वर्षीय पुरुषको पनि हिजो राती नै मृत्यु भएको छ। उनको वैशाख ११ कोरोना पोजिटिभ रिपोर्ट आएको थियो।
वैशाख ९ गते पिसिआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएका बढैयाताल गाउँपालिका ८ का ३२ वर्षीय पुरुषको भेरी अस्पतालमा आज बिहान मृत्यु भएको छ। उनी हिजो अस्पताल भर्ना भएकी थिए।
वैशाख १० गते नेपालगन्ज मेडिकल कलेजमा परीक्षण गर्दा कोरोना पुष्टि भएका नेपालगन्ज उपमहानगरपालिका ५ का ५५ वर्षीय पुरुषको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ। उनी हिजो मात्र भेरी अस्पतालमा भर्ना भएका थिए।
योसँगै बाँके जिल्लाकै १०६ जना र बाँकेमा उपचाररत बाहिरी जिल्लाका १०९ गरी २१५ जना संक्रमितको मृत्यु भएको छ।