काठमाडौं– देशभरबाट मास्क नलगाई हिँड्ने ५८ हजार भन्दा बढीलाई होल्डिङ सेन्टरमा राखेर छाडिएको छ। नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ५८ हजार १ सय ५२ जनालाई होल्डिङ जोनमा राखी सम्झाइ बुझाइ छाडिएको हो।
त्यसैगरी २५ हजार ८ सय ८४ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ। मास्क नलगाइ हिँडडुल गर्ने, तोकिएको मापदण्ड उल्लंघन गर्ने १ हजार ९१ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ।
कोभिड–१९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा ५ सय ८४ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। उक्त कार्यक्रममा देशभर गरी जम्मा १ लाख ३२ हजार ९ सय ४६ जना सहभागी भएका छन्।
नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरेको छ।
कार्यक्रमअन्तर्गत नेपाल प्रहरीले विभिन्न स्थानहरूमा कोभिड–१९ को जोखिम न्यूनीकरणको लागि सचेतनामूलक सन्देश सहितको माइकिङ, सवारी साधनहरूको चेकजाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शन लगायतका कार्यक्रममार्फत मास्क तथा स्यानिटाइजरको सहि प्रयोग र नियमित मास्क लगाउन सबैमा अनुरोध समेत गरेको छ।