काठमाडौं- वरिष्ठ डाक्टर डा ध्रुवप्रसाद सिंहको निधन भएको छ। डा सिंहको आज बिहान ३ बजे किष्ट अस्पतालमा निधन भएको हो।
रक्त क्यान्सरका बिरामी भारतमा उपचार गरेपछि नेपालमा नै बसेर औषधि लिइरहेका थिए। डा सिंहको राजबिराजमा नै लगेर अन्तिम संस्कार गर्ने तयारी भएको छ।
वीर अस्पतालको आक्समिक कक्षको प्रमुखका रुपमा उनले १२ वर्ष काम गरेका थिए।
क्यान्सरले दिने शारीरिक–मानसिक पीडालाई मनभित्रै दबाएर पनि उनी मुस्कुराइरहेका हुन्थे।
‘धन्यवाद पशुपतिनाथ, मलाई क्यान्सर भएका बिरामीको मर्का बुझ्ने मौका दियौ,’ क्यान्सर भएपछि उनले सामाजिक सञ्जालमा लेखेका थिए।
७१ वर्षीय डा सिंहले ४० वर्षभन्दा बढी स्वास्थ्य सेवामा काम गरे। स्वास्थ्य सेवामा रहेका समयमा उनी बेदाग रहे। निरन्तर बिरामीको सेवामा खटिए।
सप्तरीको दक्षिणी भागमा अवस्थित बनेनियामा जन्मिएका डा सिंह ललितपुरको हात्तिबनमा बस्दै आएका थिए।
२००७ सालतिरै बनेनिया नेपालकै शिक्षित ठाउँमध्ये गनिन्थ्यो। डेढ बर्षअघि स्वास्थ्यखबरसँग कुराकानी गर्ने क्रममा डा सिंहले त्यो समयमै उनको गाउँमा डिग्रीधारी चार जना रहेको जानकारी दिएका थिए। त्यो गाउँका शिक्षितमध्ये तेस्रो पुस्ताका थिए उनी। बोर्डर नजिकैको गाउँ भएकाले भारतका ‘म्याट्रिक्स’ फेलहरु उनको गाउँमा पढाउन आउँथे। प्रारम्भिक शिक्षा सबैको उनीहरुबाटै सुरु हुन्थ्यो। सिंह पनि महिनामा ८/१० माना चामल र दुई/चार रुपैयाँ शुल्क तिर्नेगरी ती शिक्षकका चेला बनेका थिए।
प्रारम्भिक शिक्षा यसरी हासिल गरेपछि बाँकी शिक्षा उनले बोर्डरमै रहेको एक विद्यालयमा गरेका थिए। कक्षा ८ देखि आइएससी भारतको मुजफ्फरपुर पुगेर गरेका थिए। आइएससी सकिएपछि चिकित्सा र इञ्जिनियरिङका लागि तत्कालीन श्री ५ को सरकारले छात्रवृत्ति दिन्थ्यो। छात्रवृत्तिका लागि हुने परीक्षा दिन उनी काठमाडौं आए। उनको ब्याचमा तेस्रो नम्बरमा नाम निस्क्यो। चिकित्सा पढ्ने चाहना व्यक्त गरेका उनलाई भारतको तत्कालीन भागलपुर मेडिकल कलेजमा पढ्न पठाइयो। ६ वर्षे कोर्सका लागि पठाइएका उनी जयप्रकाश आन्दोलनको मारमा परेर ७ वर्षमा मात्रै पासआउट हुन सके।
एमबिबिएस पास गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइपुगे। मन्त्रालयले उनलाई त्यो समय दुर्गम क्षेत्रकै वर्गीकरणमा रहेको दोलखामा पठायो। २०३८ सालमा ८ सय रुपैयाँ तलब पाउनेगरी त्यहाँ पुगेका थिए।
त्यसपछि टेकुस्थित शुक्ररावज ट्रपिकल तथा सरुवा रोग अस्पताल, देशका विभिन्न जिल्ला अस्पताल हुँदै वीर अस्पतालको आकस्मिक कक्षका प्रमखु भएका थिए। वीरबाट नै उनी रिटायर्ड भएका थिए। रिटायर्ड भए पनि उनले गौशालास्थित धर्माशालामा पुगेर निशुल्क बिरामीको सेवा गरेका थिए।