फाइल तस्बिर
काठमाडाैं- चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस संक्रमणको दोस्रो लहरले नेपालमा आक्रान्त पारिरहेको छ। नयाँ भेरियन्टको रूपमा भित्रिएको कोभिड-१९ को दोस्रो लहरको संक्रमण अहिले दिनानुदिन उकालो लागिरहेको छ।
हाल ३४ हजार १ सय १७ जना संक्रिय संक्रमित रहेका छन्। संक्रमितमध्ये ३ हजार २ सय ४६ जनाले ज्यान गुमाएका छन्। कोरोनाको दोस्रो लहरले सबैभन्दा धेरै प्रभावित काठमाडौं उपत्यकाका तीन जिल्ला र लुम्बिनी प्रदेशका जिल्लाहरू छन्।
कोरोनाको पहिलो र दोस्रो लहर गरि लुम्बिनी प्रदेशमा मात्र कुल ५ सय ३२ जनाले ज्यान गुमाएका छन्। यसरी ज्यान गुमाउनेमा पुरुष ३६० र महिला १७२ जना रहेका छन्।
मृत्यु हुनेमा १५ देखि ५१ वर्षका मानिस धेरै रहेका छन्। यो उमेर समूहका २७३ जनाले ज्यान गुमाएका छन्। त्यस्तै, ६० वर्ष माथिका २५५ जनाले ज्यान गुमाएका छन्। बिहीबार मात्र लुम्बिनी प्रदेशमा १६ जनाले ज्यान गुमाएका छन्।
हालसम्म सबैभन्दा धेरै रूपन्देही जिल्लाका मानिसको मृत्यु भएको छ। रूपन्देहीका १८७ जनाले ज्यान गुमाएको लुम्बिनी प्रदेश क्षेत्रीय स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ।
रूपन्देहीपछि बाँकेमा ९० जना र दाङमा ६५ जनाले ज्यान गुमाएका छन्।
