काठमाडौं - आज देशभर पाँच हजार ७२७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १५ हजार ३९१ जनाका पिसिआर र ५२५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा पाँच हजार ७२७ जनालाई संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा संक्रमित हुनेको सख्या तीन लाख २३ हजार १८७ पुगेको छ। हाल नेपालमा सक्रिय संक्रमितको सख्ंया ३८ हजार ८१३ पुगेको छ।
आज देशभर ९२८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। हालसम्म २ लाख ८१ हजार ९५ संक्रमित निको भइसकेका छन्।
देशभर ५५ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार २७९ पुगेको छ।
मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कंचनपुरमा संक्रमण उच्च दरमा फैलिरहेको छ।
'यी जिल्लामा संक्रमण फैलने दर डरलाग्दो गरी बढीरहेको छ। स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने भइसकेको छ,' मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'त्यसैले सबै दाजुभाई दिदी बहिनीमा संवेदनशील हुन हार्दिक अनुरोध छ।'
संक्रमणको रोकथाममा जनस्वास्थ्यका मापदण्डहरू मास्क लगाउने भौतिक दुरी कायम गर्ने, बेलाबेलामा साबुनपानीले हात धुने उपाय अपनाउन मन्त्रालयले अनुरोध गरेको छ।