विराटनगर– कोरोना संक्रमितको संख्या बढेसँगै मोरङका केही स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गरी वैशाख १८ गते मध्यरात १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञा एक साता जारी रहनेछ।
संक्रमित धेरै भएका केही पालिकामा निषेधाज्ञा जारी गरिएको हो।
शुक्रबार बसेको बैठकले विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ मा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। अन्य स्थानीय तहहरूमा संक्रमण दर कम भएकाले निषेधाज्ञा जारी गरिएको छैन।
निषेधित क्षेत्रमा अत्यावश्यक सेवा तथा वस्तुसँग सम्बन्धित बाहेकका सेवाहरू बन्द गर्ने निर्णय हो। दैनिक उपभोग्य वस्तुका पसल बिहान १० बजेसम्म खोल्न दिने निर्णय भएको प्रशासनले जनाएको छ। निषेधाषाको अवधिमा सवारीसाधनको आवतजावत पूर्ण रुपमा रोक लगाउने जनाइएको छ।
सरकारी कार्यालयबाट प्रवाह हुने अत्यावश्यकबाहेकका सेवा पनि बन्द हुनेछ भने भारतबाट रानी नाका हुँदै नेपाल आउने नेपाली नागरिकबाहेक अन्य आवागमन गर्न पाइने छैन ।