काठमाडौं - औषधि व्यवस्था विभागले थप ५५ हजार भाइल रेमडिसिभिर औषधि आयातका लागि अनुमति दिएको छ।
कोरोना संक्रमरको दर तिव्र गतिमा बढ्दै गएपछि औषधि आयात गर्ने विभिन्न कम्पनीहरुलाई थप रेमडिसिभिर आयातका लागि विभागले अनुमति दिएको हो।
एसियायी बंगलादेशलाई १० हजार, बेकोन फर्मास्युटिकल्सलाई १०, हेल्थकेयर फर्मास्युटिकल्सलाई १० हजार र इन्सेक्ट्रालाई २५ गरी कुल ५५ हजार भाइल ल्याउन अनुमति दिइएको विभागका सूचना अधिकारी एवं वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले बताए।
विभागले यसअघि गतसाता मात्रै बंगलादेशबाट ३० हजार भाइल रेमडिसिभिर ल्याउन अनुमति दिएको थियो। यो सँगै विभागले कोरोनाको गम्भीर खालका बिरामीका लागि प्रयोग गरिने दुई हजार भाइल टोसलीजुमाव औषधि आयातका लागि पनि अनुमति दिएको छ। यो औषधि एक देखि दुई डोज मात्र दिए पुग्ने उनले बताए।
भेन्टिलेटरमा पुगेका व्यक्तिका लागि यो औषधि निकै प्रभावकारी मानिएको उनले जानकारी दिए। कुनै व्यक्तिलाई एक डोज मात्र दिए पनि पुग्ने उनले बताए। यो औषधि नेपाल भित्रन करिब एक हप्ता लाग्ने विभागले जनाएको छ।
रेमडिसिभिर औषधि भने भोलि (आइतबार) बाट नेपाल आउन सुरु गर्ने केसीले जानकारी दिए। आइतबार मात्र करिब आठ हजार औषधि नेपाल भित्रने उनले बताए।
उनले भने, ‘शुक्रबार हामीले ५५ हजार रेमडिसिभिर आयातका लागि अनुमति दिएका हौँ। यसअघि ३० हजार भाइल ल्याउन अनुमति दिएका थियौँ। अब कुल ८५ हजार जति नेपाल भित्रन्छ। आइतबारदेखि यो औषधि आउन सुरु हुन्छ।’
कोरोना संक्रमणको दर बढ्दै गएकाले ठूलो मात्रामा रेमडिसिभिर आयातका लागि अनुमति दिइएको उनले बताए। हालको अवस्थामा आयात गरिएका यी औषधि पर्याप्त भएको उनले बताए। उनका अनुसार विभागले आवश्यकता अनुसार आयात गर्ने कम्पनी र औषधिको मात्रा पनि बढाउँदै लैजानेछ।
‘यो निरन्तर प्रक्रिया हो। संक्रमणको दर कुन गतिमा बढ्दै जान्छ। औषधिको आवश्यकता अनुसार हामी थप अनुमति पनि दिदै जानेछौं’ उनले भने।