फाइल तस्बिर
काठमाडौं- धादिङमा एकैदिन १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्रिशुली अस्पताल नुवाकोटामा गरिएको पिसिआर परीक्षणमा धादिङका १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
त्रिशुली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर दिपेन्द्र पाण्डेका अनुसार धादिङबाट कोरोना परीक्षणका लागि आएको १३३ वटा स्वाब परीक्षण गर्दा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
डा पाण्डेका अनुसार नीलकण्ठ नगरपालिका क्षेत्रबाट ४५ स्वाब परीक्षणका लागि पठाएकोमा ४२ जनामा कोरोना पोजेटिभ आएको छ।
यस्तै नेत्रावती डबजोङ गाउँपालिका क्षेत्रबाट ८८ जनाको स्वाब परीक्षणका लागि पठाएकोमा ६४ जनामा कोरोना पोजेटिभ आएको हो।
त्रिशुली अस्पतालले धादिङका स्थानीय तहहरुले पठाएका स्वाबहरुको निशुल्क पिसिआर परीक्षण गर्दै आएको डा पाण्डेको भनाइ छ।
नीलकण्ठ नगरपालिकामा संक्रमण पुष्टि भएकामध्ये १० जना जिल्ला अस्पताल धादिङका स्वास्थ्यकर्मीहरु समेत रहेका छन् । जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएको र अस्पतालका स्वास्थ्यकर्मी पनि संक्रमित भएकाले अति आवश्यक परेमा मात्र अस्पतालमा आउन सर्वसाधारणलाई सचेत गराएको छ।