काठमाडौं- बाँकेका थप चार कोरोना संक्रमितको उपचारको क्रममा निधन भएको छ। जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी) बाँकेका फोकल पर्सन तेजबहादुर वलीका अनुसार नेपालगन्ज मेडिकल कलेज, कोहलपुरमा उपचाररत राजापुर नगरपालिका २ का २७ वर्षिय पुरुषको गयराती मृत्यु भएको छ। वैशाख १७ गते पिसिआर परीक्षण गराएका उनी हिजो मात्रै अस्पताल भर्ना भएका थिए।
नेपालगन्ज मेडिकल कलेज, कोहलपुरमा उपचाररत४० वर्षिय पुरुषको पनि गयराती मृत्यु भएको छ। वैजनाथ गाउँपालिका २ बाँकेका उनी वैशाख १४ गते अस्पताल भर्ना भएका थिए। उनी संक्रमित भएको पुष्टि वैशाख १७ गते भएको थियो।
त्यसैगरी, भेरी अस्पतालमा उपचाररत कोहलपुर ११ की ४० वर्षिय महिलाको पनि गयराती मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेजमा १६ गते कोरोना पुष्टि भएपछि १७ गते उनी भेरी अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन।
डिसिसिएमसी) बाँकेका फोकल पर्सन वलीका अनुसार एन्टीजेन परीक्षणमाफर्त १७ गते कोरोना पुष्टि भई जनक शिक्षा सामाग्री केन्द्रको आइसोलेसनमा बसेका खजुरा गाउँपालिका ३ बाँकेका ५५ वर्षिय पुरुषको पनि मृत्यु भएको छ।
योसँगै हालसम्म बाँके जिल्लाका मात्र १२३ संक्रमित र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ११९ संक्रमित गरी २४२ संक्रमितको मृत्यु भएको छ।