काठमाडाैं– मूलपानीमा कोरोना संक्रमितको उपचारका लागि मूलपानी नगर अस्पताल सञ्चालनमा आएको छ। कागेश्वरी मनोहरा नगरपालिकाले सञ्चालन गरेको उक्त अस्पतालमा अहिले १० संक्रमितको उपचार भइरहेको नगरप्रमुख कृष्णहरि थापाले जानकारी दिए।
कोरोना संक्रमित बिरामीलाई भर्ना गरी उपचार शुरु गरिएको जानकारी दिँदै उनले संक्रमितको उपचारका लागि आवश्यक परेमा ०१–४१५३५९३ मा सम्पर्क गर्न सकिने बताए।
भाडामा भवन लिएर सञ्चालन गरिएको नगर अस्पतालमा चार वटा एम्बुलेन्ससमेत तयारी अवस्थामा छन् । कोरोना संक्रमित बोक्ने एउटा छुट्टै एम्बुलेन्सको व्यवस्था गरिएको छ । नगर अस्पतालमा अहिले ४० देखि ५० शय्या प्रयोगमा ल्याउन सकिने थापाले बताए।
साथै नगरपालिकाभित्र कसैलाई कोभिडको शङ्का लागेमा उपचारका लागि एम्बुलेन्स आवश्यक परे ९८४१६५५६२१ चिरन कटुवाल, ९८६१–६६९३०६ कृष्ण बिसुन्खेलाई सम्पर्क गर्न सकिने जानकारी गराइएको छ। कोरोना संक्रमितको संख्या बढ्दैगएको जनाउँदै नगरप्रमुख थापाले थप सतर्कता अपनाउनसमेत अनुरोध गरेका छन्।
भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको प्रयोग गर्न आग्रह गर्दै उनले कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गर्नसम्म अनुरोध गरे। रासस