कञ्चनपुर- बेलौरी नगरपालिकाले ५० श्ययाको कोभिड-१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ। अस्पतालमा आवश्यक स्वास्थ्य सामग्रीसहित चौबिसै घण्टा कोरोना सङ्क्रमितलाई सेवा दिने व्यवस्था मिलाइएको छ।
'अक्सिजन, भिटिएम किटलगायतको व्यवस्था गर्नका लागि प्रक्रिया अगाडि बढाएका छौँ', नगरप्रमुख पोतिलाल चौधरीले भने, 'कोरोना सङ्क्रमितको उपचारका लागि भरपर्दो सेवा दिइने छ। त्यसका लागि चौबिसै घण्टा स्वास्थ्यकर्मीलाई खटाइएको छ।'
उपचारमा आवश्यक स्वास्थ्य सामग्री, औषधिलगायतको व्यवस्था गरिएको छ। हाल अस्पतालमा चार पुरुष र दुई महिला गरी छ कोरोना सङ्क्रमितको उपचार भइरहेको छ। उपचारमा रहेकामध्ये एक महिलाको अवस्था गम्भीर र अन्यको अवस्था भने सामान्य रहेको जनाइएको छ।
रासस