काठमाडौं– भेरी अस्पतालले कोभिड–१९ विरुद्धको लडाइँको अग्रभागमा खटिएका स्वास्थ्यकर्मीमाथि कपोकल्पीत र भ्रामक सूचनाहरु सम्प्रेषण भएको भन्दै आपत्ति जनाएको छ।
भेरी अस्पताल विकास समिति अध्यक्ष प्रमोद धिताल र सदस्य सचिव डा प्रकाश थापाले विज्ञप्ति जारी गर्दै कोभिड आइसोलेशन वार्डमा कार्यरत चिकित्सकहरुले कालोबजारीसँग मिलेर बजारबाट महँगो मूल्यमा इन्जेक्सन खरिद गर्न लागाएको सूचना भ्रामक रहेको स्पष्ट पारेका हुन्।
‘कोभिड आइसोलेशन वार्डमा कार्यरत चिकित्सकहरु कालो बजारिया गर्नेहरुसँग मिलेमतो गरि बिरामहिरुलाई इन्जेक्सन रेमडिसिभीर लेखि बजारबाट महँगो मूल्यमा खरिद गर्न बाध्य पारिएको भन्ने जस्ता कपोकल्पीत र भ्रामक सूचनाहरु संप्रेषण गर्न खोजिएको प्रति खेद प्रकट गर्दछौं’ विज्ञप्तिमा भनिएको छ।
विषम परिस्थितिको अग्रमोर्चामा खटि कार्य गरिरहेका भएका सम्पूर्ण कर्मचारीहरुको मनोबल उच्च पार्नुका साथै कोभिड–१९ को संक्रमणबाट बच्नका निम्ति अपनाउनुपर्ने स्वास्थ्यका सम्पूर्ण मापदण्डहरु पालना गरि कोभिड–१९ विरुद्धको लडाइमा सहयोग गर्न अपिल गरिएको छ।