काठमाडौं– वीर अस्पताल र ट्रमा सेन्टरमा भएको अनियमितताबारे तीन दिन भित्र राय सहितको प्रतिवेदन पेस गर्न स्वास्थ्य मन्त्रालयले दिएको निर्देशनलाई स्वास्थ्य मन्त्रालयले नै गठन गरेको छानबिन समितिले अटेर टरेको छ।
समितिलाई मन्त्रालयले वैशाख १४ गते पत्र काट्दै तीन दिनभित्र रायसहितको प्रतिवेदन बुझाउन भनेको थियो। तर समितिले ६ दिन बितिसक्दा पनि प्रतिवेदन बुझाएको छैन।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल तथा राष्ट्रिय ट्रमा सेन्टरमा अनियमितता भएको उजुरी परेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत फागुन १५ गते मन्त्रालयकी प्रमुख जनस्वास्थ्य प्रशासक रिता भण्डारी जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। समितिमा वीर अस्पतालकै उपसचिव दिपक घिमिरे, स्वास्थ्य मन्त्रालयका शाखा अधिकृत दिपक रिजाल र राष्ट्रिय ट्रमा सेन्टरकी शाखा अधिकृत जुना खड्का खत्री सदस्य छन्।
सुरुमा उक्त समितिलाई १५ दिन भित्र छानबिन गरी प्रतिवेदन पेस गर्न भनिएको थियो। उक्त समयमा समितिले प्रतिवेदन नबुझाएपछि मन्त्रालयले वैशाख १४ गते पुन पत्र पठाउने तीन दिनको समय दिएको थियो। मन्त्रालयले समितिलाई तीन दिनभित्र राय सहितको प्रतिवेदन मन्त्रालयको सुशासन इकाइमा पेस गर्न भनेको थियो। तर सोमबार साँझसम्म पनि समितिले इकाइमा प्रतिवेदन पेस गरेको छैन।
समितिका एक सदस्यका अनुसार वीर अस्पताल र ट्रमा सेन्टरको खरिद इकाइले समितिलाई छानबिनका लागि आवश्यक कागजात समेत उपलब्ध गराएको छैन।
वीर अस्पतालका कर्मचारीहरुले कोभिड भत्ता नदिएको, सेवा विस्तार भत्ता, औषधि खरिद खर्च, शैक्षिक भत्ता, कोरना बिमा नदिएको अस्थायी करार, ज्यालादारी कर्मचारीलाई तीन/तीन महिनासम्म तलब नदिएको, कोभिड भत्ता नदिएको तर कमिसन लिन व्यपारीलाई भने रकम निकासा गरेको आरोप लगाएका छन्।
वीर अस्पताल स्वास्थ्य कर्मचारी युनियनले गत फागुन ३ गते वीर अस्पताल तथा ट्रमा सेन्टरमा कर्मचारी भर्ना, उपकरण खरिद, उपकरण मर्मत, समायोजन हुन नक्कली बिरामी भएको मेडिकल बोर्ड सिफारिस बनाएको,आफूनिकटसँग कोटेशनमा सामान खरिदमा अनियमितता भएको भन्दै उजुरी दिएको थियो।