काठमाडौं- पुल्चोकस्थित निदान अस्पतालमा लगानीकर्ताबीचको विवादले अस्पताल समस्या उत्पन्न भएको छ। अस्पतालमा गैरकानुनी रुपमा अध्यक्ष बनाइएपछि विवाद झन् बढ्दै गएको हो। सेयर सदस्य नै नरहेको व्यक्तिलाई अध्यक्ष बनाइएपछि अस्पताल झन् धरासायी हुँदै गएको अस्पतालका लगानीकर्ता बताउँछन्।
अस्पतालमा विदेशी लगानीकर्ताको रुपमा डोल्मा इन्फेक्ट फन्डलाई संस्थागत लगानीकर्ताको रुपमा भित्र्याइएको थियो। विदेशी लगानी भित्र्याइएपछि अन्तराष्ट्रियस्तरको व्यवस्थापन हुन्छ भन्ने सोचेका लगानीकर्ताहरु अस्पताल झन् समस्यामा पर्दै गएपछि कानूनी उपचार खोजेका छन्।
अस्पतालमा डोल्माका तर्फबाट गैरकानुनी रुपमा भारतीय नागरिक जोसेफ सिल्भानस अध्यक्ष छन्। अस्पताल सञ्चालक समितिको अध्यक्ष तथा सदस्य हुन सेयर सदस्य हुनुपर्छ। हालका अध्यक्ष सिल्भानस सेयर प्रतिनिधि मात्र हुन्। तर नियमविपरित उनलाई अध्यक्ष बनाइनुका साथै समितिमा अन्य सदस्य पनि आफूखुसी बनाएर निर्णय हुन थालेपछि सेयर सदस्यहरु रुष्ट भएका हुन्।
गैरकानुनी रुपमा अध्यक्ष बनाइएका सिल्भानसको मिलेमतोमा कम्पनी बाहिरको व्यक्तिलाई सेयर दिने निर्णय गराएको भन्दै गैरकानूनी रुपमा पेश भएको सेयर लगत बदर गर्न कम्पनी रजिष्ट्रारको कार्यालयमा उजुरी समेत दिएका थिए। सिल्भानसको योजनामा अस्पतालमा विगतमा ७८ जना सेयरहोल्डर रहेकोमा त्यसलाई नियमविपरित बढाएर १३० पुर्याएको नेपाली लगानीकर्ताको भनाई छ।
कम्पनी रजिष्ट्रारको कार्यालयले चैत २५ गते अस्पतालमा पत्र पठाउँदै 'अस्पतालले सेयर लगत अभिलेखको निमित्त पेश गरेका कागजातहरुमा सेयरधनी नरहेका व्यक्तिहरुलाई कम्पनीको सेयर विक्री गर्दा कम्पनी ऐन २०६३ तथा त्यस कम्पनीको नियमावलीको नियम १२, १२(३),(४),(५), (९) र (१०) बमोजिम कम्पनीका बहलवाला सेयरधनीहरुले उक्त सेयर खरिद गर्न पहिलो अधिकार हुने भएकोले सो प्रकृया पूरा गरेको नदेखिएको' जानकारी गराएको छ।
यस्तै, कार्यालयले अस्पतालमा विदेशी लगानीकर्ता समेत रहेकोले सेयर पर्चेच एग्रिमेन्टमा उल्लेखित सेयरधनीहरु बाहेकका सेयर विक्री गर्न खोजेका व्यक्तीहरुको हकमा उद्योग विभाग विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाबाट पुनः सेयर पर्चेज एग्रिमेन्ट स्वीकृत भई आउनु पर्नेमा उद्योग विभाग बिदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाबाट स्वीकृत एसपिए पेश नभएको, साधारण सभाका निमित्त समयावधि नदेखिएको र सोहि साधारण सभाबाट कम्पनी बाहिरका व्यक्तिहरुलाई सेयर दिने निर्णय गरेको, निदान हस्पिटल पब्लिक लिमिटेड कम्पनी भएकोले ओटिसीमा दर्ता गरी सेयर खरिद बिक्री गर्नु पर्नेमा त्यस कम्पनीको नियमावलीको नियम १२ को उप नियम ९ र १० मा भएको व्यस्था विपरीत लगत प्रमाणीकरण गरी पाउँ भनी कागजात पेश गरेको, कम्पनी ऐन, २०६३ अनुरुप बुझाउनु पर्ने विवरण तथा कागजातहरु नबुझाएको जानकारी पनि अस्पताललाई गराएको छ।
कम्पनी रजिष्ट्रारको कार्यालयले गैरकानुनी रुपमा प्रक्रिया नै पुरा नगरी सेयर कारोबार नगर्न र प्रकृया पुरा गरी कार्यालयबाट सेयर लगत प्रमाणित नहुँदा साविक सेयरधनीहरु मात्र कम्पनीको सेयरधनी हुनु पर्ने देखिएकोले सो बमोजीम गर्न पनि भनेको छ।
तर, अस्पतालमा एकपछि अर्को विवादित काममा साथ दिँदै आएका अध्यक्ष सिल्भानसले जबरजस्ती साधारणसभा गराउन लागेको नेपाल लगानीकर्ताले बताएका छन्। सिल्भानसले अस्पतालमा अवैध रुपमा भइरहेको मिर्गौला प्रत्यारोपणमा पनि चलखेल गरेको लगानीकर्ताको आरोप छ।
अध्यक्ष सिल्भानसले आफू अस्पतालसँग डोल्मा संस्थासँग विगतमा भएको सहमतीका आधारमा नै अध्यक्ष भएको दाबी गरे। उनले लगानीकर्ताहरुले गरेको विरोध तथा विवादका विषयमा भने कुनै प्रतिक्रिया नदिने बताए।
'हामी सबै सेयर होल्डरको समस्या समाधान गर्छौं। कसैलाई पनि अन्यायमा पर्दैनौं। यो विषयमा अहिले अरु प्रतिक्रिया दिन चाहन्न' उनले भने।
मिर्गौला प्रत्यारोपणका विषयमा भने उनले अस्पतालले नियम अनुसार नै गरेको दाबी गरे। तर निदान अस्पतालले सेटिङमा गैरकानूनी रुपमा मिर्गौला प्रत्यारोपण गरिएको पाएपछि प्रहरीले अस्पतालका सिइओसहितका कर्मचारीलाई पक्राउ गरेको थियो। यो विषय अझै पनि अदालतमा विचाराधिन नै छ।
अध्यक्ष सिल्भानस आएपछि अस्पतालले दर्ता नविकरण समेत नगरेको भन्दै लगानीकर्ताले यसमा पनि विरोध गरेका छन्। अध्यक्ष सिल्भानसले दर्ता नविकरणको काम प्रक्रियामा रहेको जानकारी दिए।