काठमाडौं - कोरोना संक्रमण दर र जोखिम दैनिक बढ्दो छ। संक्रमितको उपचार र व्यवस्थापन सरकारका लागि फलामको चिउरा चपाउनु सरह जस्तै बनेको छ। हाल तिव्र गतिमा बढीरहेको संक्रमणलाई व्यवस्थित गर्न भौतिक पूर्वाधार र जनशक्ति पर्याप्त नरहेको विज्ञ र स्वयं सरकारले स्वीकारेको कुरा हो।
महामारीको यो समयमा भौतिक पूर्वाधार र जशक्ति व्यवस्थापन सबैभन्दा ठूलो चुनौती हो। यसलाई के कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा नेपाली कांग्रेसका नेता गगन थापाले विभिन्न सुझाव दिएका छन्।
नेता थापाले दिएको सुझाव यहाँ प्रस्तुत गरिएको छः
स्वास्थ्य प्रणाली भनेको भौतिक पूर्वाधार र शय्या मात्रै होइन, जनशक्ति सबैभन्दा महत्वपूर्ण पक्ष हो। धेरै अस्पतालमा उपकरण र पूर्वाधार भएर पनि जनशक्तिको अभावमा सेवा प्रवाह हुन सकेको छैन। यो राष्ट्रिय विपदमा जोखिम मोलेरै पनि काम गर्न स्वास्थ्यकर्मी तयार छन र गरिरहेका पनि छन्। त्यसका लागि तत्काल देहाय बमोजिमको व्यवस्था गर्न म सरकारसँग विनम्र आग्रह गर्दछु।
१) अत्यन्त अफ्ठ्यारोमा पनि दिन रात नभनि स्वास्थ्यकर्मीहरू २४ सै खटिरहेका छन। अहिले अग्रभागमा लडिरहेका जनशक्तिलाई सुरक्षा र प्रोत्साहन सुविधा उपलव्ध गराउने कुरामा कुनै कन्जुस्याई नगरौं। निजी स्वास्थ्य संथामा कार्यरत जनशक्तिलाई पनि व्यवस्थापन र सरकारबाट थप सुविधा र सुरक्षा पाउने कुराको सुनिश्चितता गरौं।
२) थप जनशक्तिका सन्दर्भमा अहिले करार वा दैनिक ज्यालादारी काम गर्न आउनुहोस् भनेर मन्त्रालय र अन्तर्गतका निकायले सूचना निकालेर मात्र हुँदैन। सुरक्षा र प्रोत्साहनको प्याकेज बनाऔं र आव्ह्वान गरौं।
यसका लागि :
(क) हाल झण्डै हजार हजार योग्य चिकित्सक पिजीको तयारी गरिरहेका छन। परीक्षा कहिले हुन्छ भन्ने ठेगान नहुँदा उनीहरू अलमलमा छन। परीक्षाको तालिका केही महिना पछि सारेर परीक्षाको तयारीका लागि पछि निश्चित समय दिने हो भने त्यो जनशक्तिलाई कोरोना महामारी रोकथाममा परिचालन गर्न सकिन्छ। यसरी जोखिममा काम गर्नेलाई पिजीमा कार्य अनुभवको थप अंक पाउने गरी नियममा विशेष व्यवस्था गरौं।
(ख) एकातर्फ लामो समयदेखि चिकित्सक तथा स्वास्थ्यकर्मीको दरवन्दी पुनरावलोकन हुन सकेको छैन। अर्को तर्फ सरकारी सेवामा आकर्षण घट्दै गएको छ। यस अवस्थामा सरकारी दरवन्दीको पुनरावलोकन गर्ने, सेवा सुविधा र प्रोत्साहनको प्याकेज बनाउने साथै सरकारी सेवामा प्रवेश गर्न चाहने चिकित्सक तथा स्वास्थ्यकर्मीको हकमा अहिले महामारी र जोखिममा काम गरेमा विशेष ग्राह्यता दिने संयन्त्र र कानूनी व्यवस्था गरौं।
(ग) हाम्रो स्वास्थ्य प्रणालीमा लामो समय काम गरेर निवृत्व भइ बसेका, अध्ययन सकेर रोजगारीको पर्खाइमा रहेका चिकित्सक र स्वास्थ्यकर्मीको योग्यता र अनुभवलाई संकटमा परिचालन गर्न प्याकेज बनाऔं। त्यस्ता जनशक्तिलाई राष्ट्रिय पुलमा समावेश गरी अभाव भएको स्थानमा सही तरिकाले परिचालन गरौं।