काठमाडौं - रेमडिसिभिर औषधिको थप चार हजार भाइल नेपाल आउँदैछ। बुधबार या बिहीबारसम्ममा रेमडिसिभिरको थप भाइल नेपाल आउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यसअघि मंगलबार तीन हजार भाइल काठमाडौं भित्रिएको थियो। हालसम्म रेमडिसिभिरको १ लाख २५ हजार भाइल आयात भइसकेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। रेमडिसिभिर औषधिको आपूर्ति सहज बनाउँदै लैजाने मन्त्रालयले जनाएको छ।
हाम्रो मेडी कन्सर्न प्रा.लि ले बेक्सिम्को फर्मास्युटिकल्स बंगलादेशबाट उत्पादित तीन हजार भाइल रेमडिसिभिर शुक्रबार आयात गरेको थियो।
कोभिडको सबै खालका बिरामीका लागि रेमडिसिभिर आवश्यक नपर्ने भएकाले चिकित्सकहरुले उपचार प्रोटोकल अनुसार मात्र सिफारिस गर्न औषधि व्यवस्था विभागले आग्रह गरेको छ।