काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप यथाशीघ्र नेपाल ल्याउने विषयमा परामर्श गरेका छन्।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले बुधबार गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठी, मुख्यसचिव डा. शंकरदास वैरागीबीचको बैठक बोलाएर खोप ल्याउने विषयमा परामर्श गरेका हुन्।
बैठकमा तत्कालै नेपालमा खोप ल्याउने र त्यसका लागि खरिद प्रक्रिया यथाशीघ्र टुंगोमा पुर्याउने विषयमा छलफल भएको पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए।
सरकारले भारतमा निर्मित खोपलाई प्राथमिकतामा राखेको छ। यस्तै, अन्य देशमा निर्मित खोपलाई पनि विकल्पमा राखिएको जनाइएको छ।
सरकारले खोप ल्याउनका लागि यसअघि नै परराष्ट्र मन्त्रालयलाई समन्वयको जिम्मेवारी दिइसकेको छ। सरकारले पहिलो चरणमा २१ लाख र दोस्रो चरणमा ३ लाख ७० हजार डोज कोरोनाविरुद्वको खोप लगाइसकेको छ।