काठमाडौं- नेपालगञ्ज मेडिकल कलेजले कोरोनाका थप बिरामी भर्ना गर्न नसक्ने जनाएको छ। अस्पतालमा भएको लिक्विड अक्सिजन ट्यांक सकिएको र भारतबाट आउन नसकेको भन्दै अस्पतालले कोरोनाका थप बिरामी भर्ना गर्न नसक्ने जनाएको हो।
अस्पतालले बुधबार विज्ञप्ति जारी गरी लिक्विड अक्सिजन ट्यांक तत्काल उपलब्ध गराउन सरकारसँग माग समेत गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘अस्पतालमा लिक्विड अक्सिजन ट्यांक, पिएसए अक्सिजन प्लान्ट, अक्सिजन सिलिण्डरबाट कोभिड बिरामीको उपचार भइरहेको छ। तर सबैभन्दा भरपर्दो लिक्विड अक्सिजन ट्यांक सकिएको र भारतबाट आउन नसकेकाले यस शिक्षण अस्पतालले हाल उपचार गराइरहेका बाहेक थप कोरोना बिरामी भर्ना गर्न असमर्थ रहेको कुरा जानकारी गराउन चाहन्छौ।’
अस्पतालले कोभिडका लागि भन्दै तीन सय शय्या तयार गरेपनि अक्सिजनको अभावमा सञ्चालन गर्न सकेको छैन। हाल १३५ कोभिड शय्या मात्र सञ्चालनमा छ। लिक्विड अक्सिजन ट्यांक तत्काल उपलब्ध गराए कोभिडको तीन सय शय्या सञ्चालन गर्न सकिने जनाएको छ।
‘सरकारले भारतबाट लिक्विड अक्सिजन ट्यांक यथासक्य चाँडो उपलब्ध गराईदिए अस्पतालले तुरुन्त कोभिड ३ सय बेड सञ्चालन गरी कोरोना बिरामी भर्ना थाल्नेछ। समस्याका बारेमा यसअघि अस्पतालले वैशाख १९ र २१ गते अक्सिजन आपूर्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लिखित अनुरोध गरी अक्सिजन अभावका कारण अस्पतालमा ठुलो संकट आउन सक्ने भनी जानकारी समेत गराई सकिएको छ’, विज्ञप्तिमा भनिएको छ।
यसअघि अस्पतालले वैशाख १९ र २१ गते अक्सिजन आपूर्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको थियो। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको कोरोना बिरामीको चाप पनि यही अस्पतालमा हुने भएकाले हरेक पाँच दिनमा एउटा लिक्विड अक्सिजन वा दैनिक आठ सय अक्सिजन सिलिण्डरको आवश्यकता रहेको विज्ञप्तिमा उल्लेख छ।
सन् २०२१ देखि हालसम्म भर्ना भएका ३०३ जना बिरामीमध्ये १२६ जना डिस्चार्ज, १३३ उपचाररत र ४४ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ। उपचारकै क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मी गरी १४८ जना संक्रमित भएका छन्।